तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जना विरुद्ध मुद्दा

Yugnepal     1013 पटक पढिएको    

तीन अर्ब राजश्व छली गर्ने पन्ध्र जना विरुद्ध मुद्दा

 

काठमाडौं,  विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब तीन अर्ब राजश्व छलेको पाइएको छ।

सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ। उनीहरु विरुद्ध दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार एक सय १५ विगो कायम गरी विगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दावीसहित काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला ९दमाई० र पार्वती सूचीकारका नाममा आठ वटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजश्व छलेको अनुसन्धानमा खुलेको मैनालीले बताए।

फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरीद बिक्रीको कारोवार नै नगरी झुटा बिजक बनाएर राजश्व चुहावट गरेको खुल्न आएको छ।

यस्ता फर्महरुले बिजक मात्र जारी गर्ने गरेको, वस्तु तथा सेवाको वास्तविक खरीद बिक्री नगरी झुट्टा तथा नक्कली बिजक जारी गरेको र त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ।

राजश्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ।

कर सहयोगी ललितराज कन्दङ्वा र गौरी मैनालीले राजश्व चुहावटमा सहयोग गरेको तथा लेखा परीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टङ्कनाथ नेपालले गलत लेखा परीक्षण प्रतिवेदन तयार गरेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग दाबी गरिएको महानिर्देशक मैनालीले बताए।

यसमा चार महिना अघिदेखि अनुसन्धान थालेको थियो।

यसअघि विभागले ८१ मुद्दामा १८ अर्ब ३२ करोडको बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित २३८ जना विरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिसकेको छ।



शुक्रबार ०६, असार २०७६ ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal