इरान–इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गरिने  परराष्ट्रमन्त्री राणा

युग संवाददाता     136 पटक पढिएको    

इरान–इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गरिने  परराष्ट्रमन्त्री राणा

काठमाडौं।  परराष्ट्रमन्त्री डा। आरजू राणा देउवाले युद्धग्रस्त इरान र इजरायलमा रहेका नेपालीहरूमध्ये एक जनाले पनि स्वदेश फर्किन चाहेमा नेपाल सरकारले उनीहरूलाई स्वदेश ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

इरान र इजरायलबीचको बढ्दो तनावका बीच त्यहाँ रहेका नेपालीहरूको उद्धार र सुरक्षा योजना बनाउनका लागि सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री तथा पदाधिकारीहरूसँगको छलफलपछि उनले यस्तो बताएकी हुन्।

छलफलमा मन्त्री राणाले युद्धग्रस्त देशहरूबाट नेपाल फर्किन चाहने नेपालीहरूलाई स्वदेश ल्याउन सरकारले सक्रिय रूपमा काम गरिरहेको बताइन्। उनले नेपाल फर्किन चाहना राख्ने र अप्ठ्यारोमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकार सक्षम रहेको जिकिर गरिन्।


सरकारले इरान र इजरायलबीच युद्ध सुरु भएदेखि नै परिस्थितिलाई गम्भीरतापूर्वक नियालिरहेको र ट्राभल एडभाइजरी जारी गर्ने काम पनि गरेको जानकारी दिइन्। सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरूको विवरण संकलन गर्न सुरु गरेको र हालसम्म ६०३ जनाले आफ्नो विवरण उपलब्ध गराएको उनले बताइन्। तीमध्ये २० जनाले मात्रै फर्किन चाहेको उल्लेख छ।

मन्त्री राणाले आइतबारदेखि सबैतिर श्रमका लागि विदेशमा रहेका नेपालीहरूले विवरण दर्ता गर्न मिल्नेगरी नयाँ एप सार्वजनिक गर्ने तयारी भइरहेको र त्यस एपमा सबैले आफ्नो विवरण उपलब्ध गराउन सक्ने बताइन्। यसबाट कति नेपाली कहाँ छन् भन्ने यकिन तथ्यांक प्राप्त हुने र अवैध रूपमा गएकाहरूको अवस्थाबारे पनि जानकारी मिल्ने उनको भनाइ थियो।

उनले भारतको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भारतीय नागरिक फिर्ता ल्याउँदा नेपालीहरूलाई पनि ल्याउन आग्रह गर्ने जानकारी दिइन्। इजरायलमा करिब २ हजारभन्दा बढी नेपाली रहेको पाइएको र साइप्रस तथा जोर्डनबाट आउनेका लागि पनि कुरा भइरहेको उनले बताइन्।

मन्त्री राणाले सरकारले नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि गर्नुपर्ने अवस्थामा सम्भव भएसम्मका सबै उपाय, पहल र प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले आइतबारदेखि सार्वजनिक हुने एपमा सबै नेपाली नागरिकलाई आफ्नो विवरण दर्ता गर्न पनि आग्रह गरिन्।



शुक्रबार ०६, असार २०८२ ०२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal