सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पद जोगाउने रणनितिमा

युग संवाददाता     60 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पद जोगाउने रणनितिमा

 

धनगढी  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अहिले अल्पमतमा छ । आफ्ना मन्त्री बर्खास्तमा पर्दा एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकारले बहुमत गुमाएको थियो । ३१ असारमा मुख्यमन्त्री शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै सरकार अल्पमतमा पुगेको हो ।

विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपा ले समेत मुख्यमन्त्री शाहले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने भनिसकेको छ । तर, मुख्यमन्त्री शाह तत्काल पद छोड्ने मनस्थितिमा भने देखिएका छैनन् । उनी अहिले केन्द्रमा भइरहेको राजनीतिक छलफलबाट कुनै न कुनै निकास निस्कने अपेक्षामा छन् । मुख्यमन्त्री शाहले भने, ‘केन्द्रका शीर्ष नेताहरूबीच छलफल भइरहेकै छ । केही न केही राजनीतिक निकास आउँछ भन्ने विश्वास छ । त्यसैले अहिले हतारमा कुनै निर्णय गर्ने अवस्था छैन ।’


अझै २७ दिनको समय


एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग संविधानले दिएको समय अझै बाँकी छ । नेपालको संविधानअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा सम्बन्धित मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । एमालेले समर्थन फिर्ता लिएको तीन दिन बितिसकेकाले शाहसँग अझै २७ दिनको समय बाँकी रहेको छ । यही अवधिभित्र उनले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री शाह पनि संवैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताउँछन् । ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन्छु,’ उनले भने ।

अंकगणितअनुसार कांग्रेससँग एक्लै विश्वासको मत प्राप्त गर्ने पर्याप्त संख्या छैन । प्रदेशसभामा कांग्रेस १८ सांसदसहित दोस्रो दल छ । नेकपा सभामुखबाहेक २१ सांसदसहित सबैभन्दा ठुलो दल छ । उसका एक सांसद ९दीर्घबहादुर सोडारी० निलम्बनमा छन् । ११ सांसदसहित नेकपा एमाले तेस्रो दल रहेको छ भने राप्रपाका एक सांसद छन् । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।

कुन दलबीच बन्ला सत्ता समीकरण 

एमालेसंग समीकरण टुटेपछि मुख्यमन्त्री शाहले ठुलो दल नेकपाको साथ मागेका थिए । दुई दिनसम्म मुख्यमन्त्री शाहले नेकपालाई रिझाउन मिहिनेत गरे । तर, नेकपा संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरिदियो । त्योसँगै आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गर्‍यो ।

अहिले प्रमुख प्रतिपक्षी नेकपा भने कांग्रेस र एमाले दुवैसँग समानान्तर संवादमा रहेको छ । नयाँ सत्ता समीकरण बनेमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले नै पाउनुपर्ने अडान नेकपाले सार्वजनिक रूपमा राख्दै आएको छ । नेकपाका नेताहरूका अनुसार प्रदेशसभामा सबैभन्दा ठुलो दल भएकाले सरकार गठनको अवसर आफूहरूले पाउनुपर्ने उनीहरूको दाबी छ ।

बजेटविहीन अवस्थामा प्रदेश सरकार

राजनीतिक अस्थिरतासँगै प्रदेश सरकार अहिले बजेट शून्यताको अवस्थाबाट पनि गुज्रिरहेको छ । आर्थिक वर्ष २०८३र८४ का लागि सरकारले १ असारमा प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो । तर, कांग्रेस–एमालेबीच बढेको राजनीतिक विवादका कारण बजेट असार मसान्तभित्र पारित हुन सकेन । परिणामस्वरूप प्रदेश सरकार नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै बजेटविहीन बनेको छ ।

यद्यपि प्रदेश सरकार पूर्ण रूपमा ठप्प भने भएको छैन । आर्थिक मामिला मन्त्रालयका अनुसार सामयिक राजस्व संकलन ऐन, २०८१ का आधारमा राजस्व संकलन तथा नियमित सार्वजनिक सेवा प्रवाह भने निरन्तर सञ्चालन भइरहेको छ ।



आइतबार ०३, साउन २०८३ ०४:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal