सीमामा हुने अपराध नियन्त्रणमा चासो

देश

Yugnepal     699 पटक पढिएको    

सीमामा हुने अपराध नियन्त्रणमा चासो

सीमामा हुने अपराध नियन्त्रणमा चासो

दार्चुला । नेपाल र भारतका अधिकारीहरुको सीमा सुरक्षा बैठक भारतको पिथौरागढमा बसेको छ । आज दुवै देशका अधिकारीबीच भारतमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमा जोडिएका जिल्लाका अधिकारीहरुसँग समन्वय बैठक बसेको हो ।

बैठकमा भारतले अप्रिल ११ अर्थात् यही चैत २८ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाएको छ । भारतको उत्तराखण्ड जिल्लाअन्तर्गत जोडिएका नेपालका दार्चुला र बैतडीका सुरक्षा अधिकारीसँग निर्वाचनमा हुने सुरक्षा चुनौतीको विषयमा बैठकमा एजेण्डा प्रस्तुत गरिएका थिए ।

“निर्वाचनको समयमा हुने सीमा अपराधको विषयमा दुवै देश सक्रिय हुनुपर्ने बैठकको निष्कर्ष रह्यो”, बैठकपछि प्रतिक्रिया दिँदै दार्चुलाका प्रजिअ शङ्करबहादुर विष्टले भने, “निर्वाचनका बेला सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोकथाम गर्न दुवै देशका अधिकारी एकमत भएका छौँ ।”

यस्तै भारतमा हुन लागेको लोकसभा निर्वाचनमा दार्चुला बैतडीसँग सीमा जोडिएका झोलुङ्गे पुलहरु तीन दिन बन्द गर्ने सहमति भएको छ । बैतडीको झुलाघाट, दार्चुलाको लाली, दत्तु, जौलजीवी, खलङ्गा, तिगरम र सीतापूल निर्वाचन अघि बन्द हुनेछन् ।

यसैगरी सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण, अवैध वन्यजन्तुको व्यापार, मानव बेचबिखन नियन्त्रणमा दुवै देशका सीमा सुरक्षामा निगरानी बढाइने बताइएको छ । नेपाली पक्षले सीमा नदी महाकाली नदीमा बन्न लागेका चार वटा झोलुङ्गे पुल निर्माणको काममा सहजता हुनुपर्ने माग राखेको छ ।

बैतडी जिल्लाका तर्फबाट भन्सारमा जाँच र नेपालीले भारतमा पाउँदै आएको पेन्सनलाई सहज रुपमा प्राप्त गर्ने वातावरण सृजना गर्ने विषयमा मुख्यगरी छलफल भएको बैतडीका प्रजिअ आनन्द पौडेलले जानकारी गराउनुभयो । पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा विजयकुमार जोगडण्डेको सीमामा हुने पारस्परिक सुरक्षा संवेदनशीलता र निर्वाचन सुरक्षाको विषय उठाएका थिए ।

यस्तै कैलाश मानसरोवर यात्रामा जाने यात्रुका लागि नजाङ र लखनपुरमा काठेपुल लगाउने विषय बैठकमा राखिएको बताइएको छ । बैठकमा भारतको चप्पावत जिल्लाका सुरक्षा अधिकारीसमेत सहभागी थिए ।



आइतबार १७, चैत २०७५ ०७:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.