खडक रोकाया
अहिले धेरै जसो बैंकहरुले कर्जाको ब्याजदर आफ्नो क्षमताले भ्याएसम्म घटाईरहेका छन । नयाँ कर्जा त अझ महाभारतको युद्ध जित्न जस्तै भएको छ ।
सिसिडीमा आएको लचकता र तरलताको सहजताले बैंकहरुको कर्जा बिस्तार क्षमता बढेको पक्कै छ तर कर्जाको माग भने बढ्न सकेको छैन । अहिले एकल अंकमा ब्याजदर प्रस्ताब गरिरहेका बैंकहरुले पहिलो त्रैमासमा नै कर्जा बिस्तार गरेर आम्दानी बढाउन खोजेको देखिन्छ ।
अर्कोतिर नियामक निकायले पनि कोभिडको असर अर्थतन्त्रमा कम गर्न भरपुर प्रयास गरेको देखिन्छ । कर्जा बिस्तार ले रोजगारी र उत्पादन अबस्य बढ्छ पनि । तर त्यति मात्रै नभएर अहिलेको अवस्थालाई नजिकबाट मुल्यांकन गरेर फेरी अर्को कदम चाल्ने तयारी गरिरहेको पनि प्रष्ट नीति लिएको छ ।
अर्थतन्त्रको बिस्तारका लागि कर्जा परिचालन अपरिहार्य पनि हो तर अहिलेको प्रतिस्पर्धाले कि वार कि पारको स्थिति पनि पक्कै ल्याएको छ ।
अनुत्पादक क्षेत्रमा कर्जा जान सक्छ
कर्जाको ब्याज घट्दै जानु राम्रो हो तर अनुत्पादक क्षेत्रमा बढी कर्जा बिस्तार हुनु पनि त्यो भन्दा बढी घातक हो । कृषिमा खासै कसैको ध्यान छैन बरु अटो लोन, होम लोन तथा उद्धेश्य नखुलेका कर्जाहरुकै माग अहिले बढी छ । केही उत्पादनमुलक क्षेत्रहरु त महामारीका कारण खुल्न पनि सकेका छैनन् ती क्षेत्रहरु पुर्णरुपमा खुल्दासम्म यता बैंकहरुमा फेरी तरलता अभाव भईसक्न बेर छैन ।
फेरी भद्र सहमति कसरी गर्ने
अहिलेको तरलता सहज फेरी असहज नहोला भन्ने के ग्यारेन्टी छ र रु फेरी निक्षेपको लागत बढ्दै जाने हो र उता कर्जाको ब्याजदर नबढाउन दवाव पर्ने हो भने बिकल्प फेरी त्यही भद्र सहमति त होला । भद्र सहमति पनि धेरै आलोचित बिषय पनि हो । अन्य खर्चसंगै निक्षेपको लागत बढेर आधार दर अहिले दिएको कर्जाको दरभन्दा माथि गयो भने एक बर्ष सम्म ब्याजदर परिवर्तन नहुने भनिएको कर्जा कसरी ब्यवस्थापन होला । थोरै प्रिमियम राखेर अहिले वार गर्दा भोली बिश्वास गुम्ने खतरा पनि छ ।
मर्जर तथा एक्वीजिसन बाध्यता बन्न सक्छ
अहिलेको बैंकहरुको लगानी प्रतिफल, ब्यवसाय बिस्तारको चुनौती र नियामक निकायको नीतिले गाभ्ने र गाभिने कुरा धेरैका लागि बाध्यता नै बन्न सक्छ । एकछिनका लागि गरेको अनुमान दीर्घकालसम्म जान सक्दैन भन्ने कुरा त बिगतका यस क्षेत्रका कठिन ईतिहाँसहरुले बताईसकेका छन । र अहिलेको सहज अवस्था यही पाराले दीर्घकालसम्म नजाने निश्चित छ ।
डिजिटाइजेशनको प्रथिस्पर्धा अहिलेको आवश्यकता
कोभिडले ल्याएका केही राम्रा कुरामध्ये डिजिटाईजेशनको बिकल्प पनि एक हो । वित्तीय क्षेत्रमा पनि यसको आवश्यकता पनि बढेर गएको छ । अबको केही समयमै यसको ब्यापक बिस्तार हुने निश्चित छ । यसमा हुने लगानी ले बैंकहरुका बिभिन्न क्षेत्रहरुमा हुने खर्च घटाउछ र सेवाग्राहीलाई सहज पनि हुन्छ । र यसले प्रतिस्पर्धाको अर्को स्तरमा पुर्याउछ । अहिलेको अवस्थामा बैंकहरुले ब्याजदर वार भन्दा डिजिटाईजेशनमा प्रतिस्पर्धा गर्दा बढी लाभदायी हुन्थ्यो ।
पुरानालाई अन्याय, तानातानको वातावरणलाई बढावा
अहिले सस्तो ब्याजदर दिन बैंकहरुबीच होडबाजी नै चलेको छ तर पुराना ग्राहकहरुको ब्याजदर भने बैंकहरुले घटाउन सकेका छैनन । त्यसले गर्दा पुराना नियमित ब्याज तथा किस्ता बुझाईरहेकाहरुले अन्याय भएको महसुस गरेका छन । पुराना ऋणीको ब्याजदर केही घटेको त छ तर नयाँ दरभन्दा धेरै माथि नै छ जसले गर्दा ऋणको अबधि नसकिदै अर्को बैंकमा जानेै पर्ने बाध्यता भएको छ । यस प्रकारको तानातानको वातावरणले फेरी एकपटक प्रतिस्पर्धाको स्तर खस्काएको छ ।
निक्षेपको ब्याज ह्वात्तै घट्दा पुजी पलायन अर्को चुनौती
नेपालमा छोटो समयमै निक्षेपको ब्याजदर आधाले घटेको छ । एक डेढ बर्ष अघिको १३ प्रतिशत ब्याज अहिले ६ प्रतिशतमा झरेको छ । उच्च प्रतिफल खाएका निक्षेपकर्ता आफ्नो निक्षेप लाई बैकल्पिक क्षेत्रतिर लग्ने खतरा बढेर गएको छ । अनौपचारिक क्षेत्रतिर लगानी बढ्यो भने अर्थतन्त्रको टाउको दुखाई बन्न सक्छ । यसका लागि बैंकिङ क्षेत्र र नियामक निकायले चनाखो भएर अगाडी बढ्नुपर्ने देखिन्छ । बैंकिङ खबरबाट साभार
प्रतिकृया दिनुहोस