कांग्रेस बाझिएर हैन माझिएर अगाडि बढोस्

युग संवाददाता     393 पटक पढिएको    

कांग्रेस बाझिएर हैन माझिएर अगाडि बढोस्


भावना शाही, 

नेपाली कांग्रेस बाझिएर होइन माझिएर अगाडि बढ्नु आजको आवश्यकता भएको छ । आफूभित्र एक अर्काको विरोधी मात्र बनेर होइन रचनात्मक सुझाव र  सल्लाहको खाँचो छ । आफू राम्रो हुन अरुलाई गलत सावित गर्नुको कुनै अर्थ छैन । 

सौम्य र धैर्य रहेर कांग्रेसमा आफ्नो सुनौलो भविष्य देखेर लाखौं लाख युवा र आम नेपाली जनतालाई मार्गनिर्देशन गर्ने र सुरक्षित गराउने जिम्मेवारी कांग्रेस र नेताहरूको काँधमा आएको छ । कांग्रेसले नेतृत्व गरेका महत्वपूर्ण आन्दोलन एवं परिवर्तनले एतिहासिक स्थान प्राप्त गरेको कुरा अहिलेसम्म सबैलाई अवगत भएकै छ । 

नेपाली नागरिकले प्राप्त गरेका उपलब्धिहरुलाई टेक्दै यो नयाँ समस्यालाई संबोधन गर्ने विश्वास बोकेर वैचारिक साङ्गठनिक र राजनीतिक कार्यक्रमका साथ सशक्त कांग्रेसको पुनःनिर्माण गर्नु छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक प्रक्रिया, पद्धति र व्यवहार सबैभन्दा महत्त्वपूर्ण छ । यसको सम्मान सबैले गर्नुपर्दछ । 

कांग्रेस हृदयबाटै स्वीकारेको लोकतान्त्रिक प्रतियोगी पार्टी हो । अरु दलसँगको यो प्रतियोगितामा विजयी हुन आवश्यक छ । यसका लागि पार्टीका जिम्मेवार नेताहरुले निर्माण गरेको जगमा अहिलेको आवश्यकता अनुरुपको सक्षम र सबल पार्टी पुनःनिर्माण गर्नु जरुरी छ । 

यसका लागि कांग्रेसले एजेन्डा तय गरेर त्यसमा समर्पित हुने पार्टीका सबैलाई क्रियाशील बनाएर आम नागरिकलाई साथमा लिएर एजेन्डाको कार्यान्वयन गर्नुपर्नेछ । पार्टीको आजसम्मको अभ्यासको विवेचना नगरी भविष्य निर्माण हुन सक्दैन । विचारमा देखिएका कमीकमजोरीहरु हटाएर अभ्यासमा देखिएका त्रुटिहरु सच्याउनु आजको आवश्यकता हो । 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि जुन अपत्यारिलो रूपमा राजनीतिक दुर्घटना भयो यो घटनाले जनताको अपेक्षा अनुरूपको कार्य गर्न सकिँदैन । त्यसकारण पनि नेतृत्वले कार्यकर्तालाई सही मूल्यांकन गरी सम्पूर्णरूपमा परिचालन गर्नुपर्ने देखिन्छ । अन्य पार्टीका भ्रमपूर्ण प्रचार र गलत व्यवहारलाई खण्डन गर्न यथार्थ कुरालाई जनताको सामु ल्याउनु पर्छ । यसको समीक्षा गरेर समाधानको उपाय निकाल्नुपर्छ । कांग्रेसीले कांग्रेस हुनुको अनुभूतिमा गर्व गर्ने वातावरण तयारीमा लाग्नुको विकल्प छैन ।  

निरंकुश जहाँनिया राणाशासन विरुद्ध २००७ सालमा क्रान्ति गर्ने, २०१५ सालको पहिलो आमनिर्वाचनमा अत्यधिक बहुमतको पार्टी हुने, तानाशाह पञ्चायतकालमा निरन्तर ३० वर्षको लामो लडाइँ लड्ने, लोकतन्त्रको जग निर्माण गर्ने, मुलुकलाई योजना र भविश्य दिएको पार्टी किन आज राष्ट्रको नेतृत्व गर्नबाट वञ्चित हुनु पर्यो रु 

कम्युनिष्टले कांग्रेसलाई किन र कसरी उछिने रु त्यसको सही र सटिक विश्लेषणका साथ भावी कार्यक्रम कोर्दै अबको निर्वाचनमा एक्लै बहुमतको पार्टी हुने रुपरेखा कोर्नका लागि पार्टी एकढिक्का हुनैपर्छ । 

ठूलो दल हुँदा पनि यतिबेला कांग्रेस देशको शासनबाट ओझेलमा परेको छ । वर्तमान अवस्था पार्टीका लागि निकै चुनौतीपूर्ण छ । यो अवस्थालाई संगठन र जनताबीच बस्ने समयका रुपमा सदुपयोग गरी लाभ उठाउनु पर्नेछ । यो कांग्रेसको परीक्षाको यस्तो समय हो जुनबेला जनताको विश्वास र सद्भाव अत्यधिक रूपमा बटुल्दै लामो समयका लागि पार्टीका आदर्शप्रति प्रतिबद्ध जनताको ठूलो समूह निर्माण गर्न सकिन्छ ।

कांग्रेसका आदर्श, सिद्धान्त र नैतिक बलमा विश्वास गर्ने व्यक्तिहरूको बाहुल्य हुने समयमा नै नैतिकता, इमानदार, विधिको सर्वोच्चता लगायतमा खँदिलो रूपमा विकास गर्न आवश्यक छ । हाम्रो आस्था लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता हो । 

यो विश्वास नगर्ने मौकापरस्त र चाकरीतन्त्रका पृष्ठपोषणकहरु को को हुन्, सरकार चलाइरहेको दलको चाकरीमा को को व्यस्त हुँदारहेछन् भन्ने पहिचान गर्ने अवसर पनि हो । कांग्रेसले करिब साढे सात दशकदेखि नेपालको विकास जनताका अधिकार र यसको सार्वभौमसत्ता रक्षाका लागि गरेको संघर्ष र त्यागका कथा हरेक पुस्ताले बारम्बार अध्ययन र मनन गर्नुपर्दछ ।

त्यसैले कांग्रेसले रणनीतिक रुपमै आफूले गरेका कामलाई सही ढंगले जनता समक्ष कसरी ल्याउने भन्ने विषयमा विशेष महत्व दिन आवश्यक छ । पुस्तौनी कांग्रेस भएका परिवारका नयाँ सदस्यलाई उनीहरुको पुस्तौनी विश्वासको दल किन यो देशका लागि आवश्यक छ भन्ने विषयमा जानकारी गराइराख्नु पर्ने देखिन्छ र गत निर्वाचनमा पहिलोपटक मतदाता बनेका युवा र आउँदो निर्वाचनसम्म फेरि थपिने मतदाताको विषयमा नेपाली कांग्रेसले विशेष रुपमा ध्यान दिनु अत्यन्तै जरुरी भएको छ । 

विकास, समृद्धि र आधुनिक प्रगति देखेर नेपालमा केही पनि भएन भन्ने जनताले यसका लागि कांग्रेसलाई विगतमा देखे र कतिपयले मतदान गर्ने समयमा आफ्नो रुष्टता प्रकट गरे । कांग्रेसको लोकप्रिय समानुपातिक भोटसमेत साढे सात प्रतिशतले घट्यो । 

तर नेपाल अहिलेको अवस्थासम्म आउन कांग्रेसले के कस्तो कार्य गर्यो र भविश्यमा पनि किन कांग्रेसले नै यो देशको सार्वभौमसत्ता जोगाउँदै आर्थिक विकासको पथमा अघि बढाउन सक्दछ भन्ने विषयमा पनि नयाँ पुस्तालाई थाहा दिने र पुरानो पुस्तालाई सम्झाउने काम कांग्रेसको नेतृत्व तहको हो । 

त्यसैले यस्ता विषयमा जनतालाई सुसूचित गराउनुको साथै कांग्रेसले अग्रगामी रणनीति तय गर्नु अति आवश्यक छ । सोही उद्धेश्यमा कोशेढुङ्गा हुन सकोस् । त्यसका लागि पार्टीका आन्तरिक विवादलाई छलफलका माध्यमबाटै समाधान गर्नुपर्छ । गल्ती एक पक्षबाट मात्रै भएको छैन । आलोचनाको माथापच्ची नगरी समाधानको मार्गमा जाँदा नै कांग्रेसको भलो हुनेछ । ९नेतृ शाही कांग्रेसको प्रतिनिधि सभा समानुपातिककी उम्मेदवार हुन्० 



सोमबार १८, पुष २०७९ १०:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.