सुदूरपश्‍चिमका पहाडी जिल्लामा भारी हिमपात, यातायात ठप्प

Yugnepal     1259 पटक पढिएको    

सुदूरपश्‍चिमका पहाडी जिल्लामा भारी हिमपात, यातायात ठप्प


धनगढी  बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। शुक्रबार बिहानैदेखि बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली र लेकाली भेगमा हिमपात भइरहेको छ। हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले हिमपातका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको बताए।

उनले बैतडी, डडेल्धुरा, बझाङ लगायतका जिल्लाबाट छुट्ने र भित्रिने सवारी साधनबिच बाटोमै अलपत्र परेको जानकारी दिए।

बाजुरामा बिहीबार अपराह्नदेखि हिमपात र वर्षा शुरु भएको हो। जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात भइरहेको छ। हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ।

अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कन समेत समस्या भएको छ।

चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रुपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ।

हिमाली क्षेत्रमा भारी हिमपातले घर बाहिर निस्कनसमेत समस्या भइरहेको गौमूलका बासिन्दा प्रेम सार्कीले जानकारी दिएका छन्। चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ।

यस्तै बझाङ जिल्लाका साईपाल गाउँपालिका, छविसपाथिभेरा, दुर्गाथली गाउँपालिका, खप्तड छान्ना गाउँपालिका लगायतका स्थानीय तहका अधिकांस ठाउँमा हिमपात भएको छ।

बिहानतिर उच्च हिमाली भेगमा मात्र हिमपात भएको भएपनि दिउँसो बिस्तारै तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।



शुक्रबार २७, मङि्सर २०७६ ०७:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal