भारतीय दुतावास अगाडी लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ताको माग गर्दै प्रदर्शन

Yugnepal     1035 पटक पढिएको    

भारतीय दुतावास अगाडी लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ताको माग गर्दै प्रदर्शन

 


काठमाडौं। भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक नक्सा सार्वजनिक गरेपछि आन्दोलित बनेको नेपाल यूवा विद्यार्थीहरुको एउटा समुहले भारतीय दुतावास अगाडी प्रदर्शन गरेको छ।

नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले भारत सरकारले नेपाली भुभागलाई आफ्नो नक्सामा राख्ने कार्य सच्याउन माग गर्दै दुतावास अगाडी धर्ना र प्रदर्शन गरेका हुन्।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष सागर परियारको नेतृत्वमा भुमी हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै भारतीय राजदुतावास अगाडी १ घण्टा धर्ना दिइएको हो।

विरोध प्रर्दशनमा सहभागीहरुले नेपाली भुमि फिर्ता गर्न माग गर्दै सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताएका थिए । उनीहरुले राष्ट्रवादको आडमा सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादमा ठोस काम गर्न नसकेको आरोप लगाएका थिए।  

सीमा मिच्ने प्रवित्तिको चर्को विरोध गर्दै उनीहरुले अब नेपाली जनताले आफ्नो मातृभुमी रक्षाको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्ने बताएका थिए। 

नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र अरुको पनि एक ईन्च भुमी नमिच्ने भन्दै राष्ट्रियताको मुद्धामा सबै एकै ठाउँमा उभिन आग्रह गर्दै आन्दोलनमा सहभागी भएको विद्यार्थी नेता विवेक धरलले बताए।

धर्नामा रहेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’ लगायतका नारा लगाएका थिए ।



बुधबार २७, कार्तिक २०७६ ११:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal