खानी उत्खननबाट १ हजार २ सय परिवार जोखिममा

देश

Yugnepal     1100 पटक पढिएको    

खानी उत्खननबाट १ हजार २ सय परिवार जोखिममा

 

मकवानपुर । स्थानीय सरकार र स्थानीयसँग भएको सहमतिविपरीत खानी उत्खानन भइरहेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।
मकवानपुरगढी गाउँपालिकाको मझुवामा रहेको चुनढुंगा खानी उत्खननका कारण खानीप्रभावित आगामी वर्षा याममा आउने सम्भावित बाढीको त्रासले अहिले चिन्तित छन् ।

खानीको कारण आधा दर्जन गाउँका १ हजार २ सय परिवार अहिले त्रासमा बाँचिरहेका छन् । चुनढुंगा निकाल्न मजुवाको डाँडामा निरन्तर उत्खननका कारण जोखिम बढिरहेको छ । केही समयअगाडि सञ्चारमाध्यममा जोखिमबारे समाचार सार्वजनिक भएपछि अनुगमनका लागि टोली खानी पुग्यो तर अहिलेसम्म उत्खनन कार्य रोकिएको छैन ।

मझुवा डाँडामा पुग्दा खोतल्दै गरेका एक्स्काभेटर, ढुंगा, माटो र ग्राभेल यतिकै जथाभावी फालिएको देख्न सकिन्छ । माथि हेर्दा ढुंगा, माटो झरेर हेर्न डर लाग्ने, तल हेर्दा पनि पहिरो झरेको डोब हेर्नै नसकिने अवस्थामा छ । तर, यस्तै पहरामा नीलो रंगमा देखिने सिमेन्टको चुनढुंगा नौवटा एक्स्काभेटरले निकाल्दै छन् । मकवानपुरगढी गाउँपालिका वडा–५ मा मजुवा खानीमा हेटौंडा सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन गर्दै
आएको छ ।

खानीनजिकै रहेका चुहार, नयाँ गाउँ, सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन र धादिङका १ हजार २ सय घरधुरी बढी प्रभावित छन् । खानीको फेदमा रहेको अमरसिंह प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक उस्तै जोखिममा छन् ।

हेटौंडाको मुख्य बजारबाट करिब १५ किलोमिटर उत्तरपूर्वमा रहेको खानीबाट विगतमा पनि धेरै स्थानीय पीडित भइसकेका छन् । खानी जथाभावी रूपमा उत्खनन् गर्दा विज्ञ र प्राविधिकबिना एक्स्काभेटर चालक आफंै इन्जिनियर बनेर डाँडा कपेर पहिरो लडाइरहेको स्थानीयको दाबी छ ।
खानीनजिकै रहेका चुहार, नयाँ गाउँ, सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन र धादिङका १ हजार २ सय घरधुरी बढी प्रभावित छन् । खानीको फेदमा रहेको अमरसिंह प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक उस्तै जोखिममा छन् ।

‘हाम्रो एउटै चिन्ता जथाभावी खानी उत्खनन गरेर डाँडैभरि फालिएको ओभरबटमका कारण वर्षा याममा विद्यालय पनि बगाउँला भन्ने हो,’ शिक्षक गीता सञ्जेलले बताइन् ।

यसअघि चुनढुंगा व्यवस्थित तरिकाले निकाल्नुपर्छ, ओभरबटमको नियन्त्रण गर्नुपर्छ भनेर विद्यालयको हितका लागि आवाज उठाउँदा बल प्रयोग गरेर आफूलाई हिरासतमा राखेको गुनासो गर्दै सञ्जेलले भनिन्, ‘हितमा बोल्दा लगेर जाकिदिन्छन्, चुपचाप बस्न
बाध्य छौं ।’

हिउँदमा सामान्य पानी पर्दा पनि खानी क्षेत्रमा पहिरो झरेको देखेका शिक्षक र विद्यार्थीहरू अहिलेदेखि नै उत्तिकै चिन्तामा छन् ।
यसैगरी, गढी गाउँपालिका–५ ज्यामिरेका स्थानीय भरतप्रसाद फुयाँल भन्छन्, ‘समयमै रोक्क र वैज्ञानिक तवरबाट उत्खनन गर्न हामीले भनिरहेका छौं तर पटक्कै सुनुवाइ भएको छैन ।’

खानीसँगै रहेको शारदा माध्यमिक विद्यालय, ५ नम्बर वडा कार्यालय, स्वास्थ्य चौकी, विभिन्न संघसंस्थासँगै मानव बस्ती बढी जोखिममा रहेको फुयाँललेबताए । ‘गढी गाउँपालिका र यहाँको वडा कार्यालयले एकले अर्कालाई दोष लगाएर खानीबाट जताततै फालिएको ओभरबटम नियन्त्रण गर्न चासो दिइएन,’ उनले भने, ‘साढेको जुधाइ बाच्छाको मिचाइ भनेझैं हानि हाम्रो हुन्छ । दुई निकाय समन्वय गर्नुभन्दा हानथाप गरेर बस्छन् ।’
पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले खानी सञ्चालन गर्दा पहिले स्थानीय, वडा कार्यालय, गाउँपालिका कार्यालयसँग गरिएका सहमति पालना गरेर मात्र खानी सञ्चालनका लागि माग गरिएको थियो ।

तर, त्यसको सुनुवाइ नभएको बस्ती संरक्षण समितिका सचिव इन्द्रजित देवकोटाले बताए । जिल्ला समन्वय समिति र वडा कार्यालयमा भएका सबै सहमति कार्यान्वयन गर्न दबाब दिइएको गढी गाउँपालिका–५ का अध्यक्ष जितबहादुर घिमिरेले बताए ।

खानी सञ्चालन गर्न हेटौंडा सिमेन्ट उद्योग, चुनढुंगा उत्खनन र ढुवानी गर्ने ठेक्का पाएको ओमसायी कन्स्ट्रक्सनले ओभरबटम व्यवस्थापन गर्न खानीमै जाली भरेर ग्राभेल निस्कनै नदिने भनी सहमति भएको थियो ।

यस्तै, ज्यामिरेदेखि कालिवन, सिमल्टारसम्म सिमेन्टको कंक्रिट ढलासहितको ठूला चेक ड्याम हाल्ने, स्थानीय क्षेत्रमा स्लाब ढलानको सडक निर्माण गर्ने सहमति भएको थियो । सिमेन्ट उद्योगले प्रभावित क्षेत्रका विद्यालय स्थानान्तरण गर्ने, खानी प्रभावित घर, जग्गाको मुहाब्जा दिनेलगायत सहमति भएको हो । तर, सहमतिअनुसार कुनै पनि काम नभएको बस्ती संरक्षण समिति अध्यक्ष देवकोटाले बताए ।



आइतबार २६, फागुन २०७५ १०:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.