लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

Yugnepal     668 पटक पढिएको    

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

काठमाडौं। ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५(०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए। “हतारोका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौँ”, उनले भने।

महाशाखाले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारवाही गर्दै आएको छ। सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ।

कारवाही परेकामध्ये ४० हजार ६१९ पुरुष र दुई हजार २०३ महिला रहेका छन्। ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई रु पाँचसय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले विस २०७१ असोज २६ देखि लेन अनुशासन कारवाही गर्दै आएको हो। महाशाखाले हालसम्म तीन लाख आठ हजार ५४७ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताए। 

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्।रासस



शनिबार १८, साउन २०७६ १०:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal