सर्वोच्चको क्यान्टिन  जहाँ काठमाडौं बाहिरका विद्यार्थीले पाउँछन् रोजगारी

Yugnepal     809 पटक पढिएको    

सर्वोच्चको क्यान्टिन  जहाँ काठमाडौं बाहिरका विद्यार्थीले पाउँछन् रोजगारी

 

काठमाडौं,  कामदार अधिकांश किशोरीहरु। त्यो पनि भर्खरै १७–१८ वर्षमा टेकेका।
फूर्तिला अनि सालिन स्वभावका। उनीहरु हुन्–सर्वोच्च अदालतको क्यान्टिनमा काम गर्ने किशोरीहरु। जहाँ अधिकांश कलेज पढ्ने किशोरीहरु छन्। जसले चिया बोक्नेदेखि खाजा तयार पार्नेसम्मको काम गर्छन्।

क्यान्टिनका सञ्चालक गोपाल सुवेदीले विद्यार्थीलाई आडभरोसा दिएका छन्। उनले सर्वोच्चसहित विभिन्न कार्यालयमा गरी ८ वटा क्यान्टिन चलाएका छन्। सबै क्यान्टिनमा सम्भव भएसम्म उनले महिला विद्यार्थीलाई रोजगारी दिने पनि गरेका छन्। 

सर्वोच्चमा २०५९ साल यता क्यान्टिन चलाउँदै आएका छन् गोपालले। आजभोलि भने उनको परिचय फेरिएको छ। न्यायाधीश, वकिल, कर्मचारी, सेवाग्राही लगायत सबैको जिब्रोमा ‘गोपाल दाइ’ को क्यान्टिन भनेर गडेको छ। सर्वोच्च अदालतसहित उनले खोलेका क्यान्टिनहरुमा विभिन्न जिल्लाबाट काठमाडौंमा अध्ययन गर्न आएका एक सय ५० जनाले रोजगारी पाएका छन्। 


‘मैले भेटेसम्म महिला र काठमाडौंबाहिरबाट पढ्न आएका विद्यार्थीलाई काम दिन्छु। मेरोमा काम गर्नेमध्ये ६० प्रतिशतभन्दा बढी महिला विद्यार्थी छन्,’ सुवेदीले भने, ‘उनीहरुले पढ्ने लेख्ने सुविधा पाएका छन्। ११ कक्षादेखि डिग्री पढ्ने विद्यार्थीसम्मले मेरो क्यान्टिनमा काम गर्छन्।’ 

प्रायः कामदार विद्यार्थी उच्च शिक्षाका लागि भनेर गाउँबाट काठमाडौं छिर्ने गरेका छन्। अहिलेको महँगीमा विद्यार्थीका लागि कोठा भाडा, यातायात खर्च, खान बस्न, व्यक्तिगत खर्च सबै क्यान्टिनको रोजगारीले धानेको छ।

दुई वर्षदेखि सर्वोच्चको क्यान्टिनमा काम गर्ने काभ्रेकी रुपा विष्टले क्यान्टिनको रोजगारीले पढाइ खर्चमा सहज भएको बताइन्। उनी व्यवस्थापनतर्फ कक्षा १२ की विद्यार्थी हुन्। ‘बस्न, खान, पढ्न, सामान्य खर्च धानिएको छ। बाआमासँग पैसा माग्न परेको छैन,’ विष्टले भनिन्।  


यसरी सुवेदीको क्यान्टिन अन्यभन्दा फरक शैलीमा चलेको छ। खासगरी निम्न वर्गका  कामदारलाई रोजगारी दिने गरेको सुवेदीले बताए। क्यान्टिन सञ्चालक सुवेदीले महिला विद्यार्थी राख्दा व्यवसाय सहज बनेको बताउँछन्। सामान्यतया महिलाको स्वभाव नम्र, सफासुघ्घर गर्ने र नरिसाउने भएका कारण पनि काम गर्न सजिलो भएको अनुभव उनको छ।

‘मैले अझै पनि यस्ता विद्यार्थी खोजीरहेको छु। उनीहरुको पनि गुजारा चल्ने, मेरो व्यवसाय पनि राम्रो हुने,’ सुवेदीले भने। उनको क्यान्टिनमा काम गर्ने कामदारले पढाइ अनुसार आलोपालो सेवा गर्दछन्। बिहान र दिउँसो पढ्ने विद्यार्थीलाई सुवेदीले रोटेसनमा राखिदिएका छन्। अर्थात ‘क्यान्टिन’ स्वतस्फुर्त सिष्टममा चलेको छ। 


सेवाग्राहीको बढ्दो मागलाई ध्यानमा राखी सर्वोच्चका अतिरिक्त पुनरावेदन अदालत पाटन, विशेष अदालत, काठमाडौं जिल्ला अदालत, भक्तपुरस्थित युसेफ नेपाल, सानो भर्‍याङस्थित सेनाको मेडिकल कलेज लगायत कार्यालयमा सुवेदीले क्यान्टिन विस्तार गरेका छन्। 

यही व्यवसायबाट आर्जेको नाफाले ललितपुरको ठेँचोमा सुविधा सम्पन्न ‘रिसोर्ट’ खोल्ने तयारीमा पनि उनी छन्। कामदार खुशी नभए व्यवसाय चलाउन नसकिने निष्कर्ष उनको छ।



शनिबार २१, असार २०७६ ०२:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.