लोकसेवामा तीन लाखको आवेदन, मुद्दा अदालतमा विचाराधीन, आवेदक अलमलमा सरकार

Yugnepal     847 पटक पढिएको    

लोकसेवामा तीन लाखको आवेदन, मुद्दा अदालतमा विचाराधीन, आवेदक अलमलमा सरकार

 

काठमाडौं। केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा रोजगारी बढाउने भनी बताएको पनि डेढ वर्ष हुन लागेको छ । चुनावी नारा लिएर चुनाव जिते पनि त्यसले सार्थकता पाउन सकेको छैन । 

सरकारले रोजगारीका अवसर बढाउनुको सट्टा विदेशमा युवालाई धकेल्नका लागि विभिन्न मुलुकसंग श्रम सम्झौता गरिरहेको छ । सरकारको यो दोहोरो चरित्रप्रति सशंकित युवाहरु न त विदेशको खाडी छाडेर नेपाल आउन सकेका छन् । न त नेपालमा भएका युवाहरु ढुक्क भएर रहन नै सकेका छन् । 

सरकारको दोहोरो चरित्रबीच अहिले लोकसेवा आयोगले निकालेको विवादित विज्ञापनमा आवेदन दिनेको भने बाढी नै लागेको छ ।

धान्नै नसक्ने गरी आएको आँकडा भने अचम्मको छ । मंगलबार अन्तिम दिनअघि आइतबार साँझसम्म स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा झन्डै ३ लाखको आवेदन परेको छ ।

लोकसेवा आयोगका अनुसार आइतबार साँझ ५ बजेसम्म २ लाख ९३ हजार २ सय ७१ जनाको आवेदन दर्ता भएको छ । जसअन्तर्गत खुलातर्फ २ लाख ८९ हजार ७ सय ८८, जनजातितर्फ ३१ हजार १ सय ३६, मधेसीतर्फ १८ हजार १ सय ८८, दलिततर्फ २ हजार २ सय ३९, अपांगता भएकातर्फ १ सय ११ र पिछडिएका क्षेत्रतर्फ ८७ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

आवेदन बापत ५ करोड ५४ लाख ५९ हजार १ सय रुपैयाँ राजस्व संकलन भइसकेको आयोगले जनाएको छ ।

आयोगले गत १५ जेठमा ५ सय १५ स्थानीय तहमा ९ हजार १ सय ६१ जनाका लागि भर्ना आह्वान गरेको थियो । 

विवादित विज्ञापनले सरकार–संसद–आवदेकबीच दूरी
आवेदक अहिलेसम्मकै बढी भए पनि यसको नतिजा के हुन्छ भन्ने अन्योल छ ।

सरकार र लोकसेवा आयोगले आवेदकलाई कुनै आश्वासन नै दिन सकेको छैन । यो अलमलबीच आवेदकहरुसमेत पनि आक्रोशित छन् । त्यो भन्दा बढी उनीहरु भविष्यलाई लिएर चिन्तित छन् । 

उनीहरुले आफ्नो अधिकार हनन नगर्न पनि माग गर्दै आएका छन् ।  

मुलुक संघीयतामा गइसके पनि ओली सरकारले केन्द्रबाटै प्रदेश र स्थानीय तहलाई नियन्त्रण गरिरहेको आरोप लाग्दै आएको छ । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आयोगले विज्ञापनका क्रममा समावेशी सिद्धान्त पालना नगरी विज्ञापन आह्वान गरेको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । 

सरकारले यसमा वास्ता गरेन । विभागीय मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले यसको बेवास्ता गरेका छन् । उनले संविधान अनुसार नै विज्ञापन खोलेको बताएका छन् । 

प्रदेश सरकारको ईच्छा विपरीत विज्ञापन आएको भन्ने प्रश्न त एकातिर छ नै अहिलेसम्म प्रदेश आयोग नै बनेको छैन । मन्त्री पंडित भने प्रदेश सरकारले आयोग गठन नगरेकाले संघीयबाटै विज्ञापन खोल्नुपरेको दावी गर्दै आएका छन् । 

लोकसेवा आयोगलाई आवेदन रोक्न निर्देशन दिँदासमेत रोकेको छैन । उसले अहिले रोक्न नमिल्ने बताउँदै आएको छ । 

यस सम्बन्धीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले पनि मुद्दा विचाराधीन रहँदा आवेदन रोक्न भनेको छैन । 

संसदीय समिति मिनि पार्लियामेन्टका रुपमा दायित्व निर्वाह गरिरहेको हुन्छ । तर त्यसको बेवास्ता सरकारले गर्दै आएको छ । 

निर्देशन पालना हुन छाडेका छन् । सरकारले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप पनि लाग्दै आएको छ । 

अर्कातिर केपी शर्मा ओली संघीयता नरुचाउने नेता भएको आरोप लाग्दै आएको छ । उनले स्थानीय र प्रदेश सरकार भनिए पनि अधिकार सबै केन्द्रमै राखिरहेका छन् । 



सोमबार ०९, असार २०७६ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal