धनगढी सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा ९एसईई०को सम्पूर्ण तयारी पूरा भएको छ । भोली बिहिबारदेखि सुरु हुने परीक्षाका लागि प्रदेशभरका सबै परीक्षा केन्द्रमा प्रश्नपत्र सुरक्षित रूपमा पुर्याइसकिएको छ । यस वर्ष सुदूरपश्चिमबाट कुल ५३ हजार ९७३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालय डोटीका सूचना अधिकारी प्रेमलाल हरिजनका अनुसार नियमिततर्फ ४० हजार ७१०, प्राविधिक धारतर्फ १ हजार ७७८ र ग्रेडवृद्धितर्फ ११ हजार ४८५ परीक्षार्थी रहेका छन् ।
जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा १८ हजार २७८ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा कम बाजुरामा २ हजार ४२६ विद्यार्थी रहेका छन् । त्यसैगरी कञ्चनपुरमा १० हजार ८९८, बैतडीमा ४ हजार ५२९, अछाममा ४ हजार ४९१, दार्चुलामा ३ हजार ५६८, बझाङमा ३ हजार ४२१, डोटीमा ३ हजार ३१४ र डडेल्धुरामा ३ हजार ४८ परीक्षार्थी रहेका छन् । प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन २२१ केन्द्राध्यक्ष, ३७३ सहायक केन्द्राध्यक्ष तथा २ हजार ७२८ जना निरीक्षक परिचालन गरिनेछ । साथै, प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३ हजार ३१५ जना प्रहरी खटाइने तयारी गरिएको छ । यसबाहेक ४६९ जना परीक्षा सहायक र १ हजार १०३ जना सहयोगी कर्मचारी पनि परिचालन गरिने निर्देशनालयले जनाएको छ ।
कैलाली जिल्लामा मात्रै १८ हजारभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञावालीका अनुसार जिल्लाका ५५ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरूले परीक्षा दिनेछन् । जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए । परीक्षा केन्द्रहरूमा सिट प्लान व्यवस्थापनदेखि सुरक्षा प्रबन्धसम्मका सबै तयारी सम्पन्न भइसकेका छन् । परीक्षालाई अनुशासित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा सम्बन्धित जनशक्तिलाई प्रशिक्षण दिइसकिएको छ । बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षामा अनुशासित र आत्मविश्वासका साथ सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ स्थित सरस्वती ९सारदा० माध्यमिक विद्यालयका केन्द्राध्यक्ष तेजबहादुर सिंहले परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनका अनुसार उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको, प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित रूपमा राखिएको र सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । “हामी मर्यादित र व्यवस्थित तरिकाले परीक्षा सञ्चालन गर्न तयार छौँ, विद्यार्थीहरूलाई स्वागत गर्न सम्पूर्ण तयारी पूरा गरेका छौँ,” उनले भने ।
समग्र तयारी पूरा भएसँगै सुदूरपश्चिममा यस वर्षको एसईई परीक्षा व्यवस्थित, सुरक्षित र मर्यादित ढंगले सञ्चालन हुने अपेक्षा गरिएको छ । सम्बन्धित निकायबीचको समन्वय, सुरक्षा प्रबन्ध र विद्यार्थीहरूको अनुशासनले परीक्षा सफलतापूर्वक सम्पन्न हुने विश्वास लिइएको छ ।
प्रतिकृया दिनुहोस