धनगढी आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा ९एसईई० सुरु भएको छ । परीक्षामा सुदूरपश्चिम प्रदेशबाट झण्डै ५४ हजार परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास निर्देशनालय डोटीका अनुसार नियमिततर्फ ४० हजार ७१०, प्राविधिक धारका एक हजार ७७८ र ग्रेडवृद्धिमा ११ हजार ४८५ गरी ५३ हजार ९७३ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।
सबैभन्दा बढी कैलालीमा १८ हजार २७८ परीक्षार्थी छन् । सबैभन्दा कम बाजुरामा २ हजार ४२६ परीक्षार्थी छन् । यस्तै, कञ्चनपुरमा १० हजार ८९८, बैतडीमा ४ हजार ५२९, अछाममा ४ हजार ४९१, दार्चुलामा ३ हजार ५६८, बझाङमा ३ हजार ४२१, डोटीमा ३ हजार ३१४ र डडेल्धुरामा ३ हजार ४८ परीक्षार्थी रहेका छन् । निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले आजैदेखि उत्तरपुस्तिका परीक्षण पनि सुरु गरिएको जानकारी दिए । ‘एसईईको नतिजा वैशाख महिनाभित्रै सार्वजनिक गर्न निर्देशन केन्द्रबाट आएको छ,’ हरिजनले भने, ‘सोही निर्देशनअनुसार आजैदेखि कपी जाँचको काम पनि सुरु भएको छ ।’
उनका अनुसार सम्बन्धित परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्न सुरु गरिएको हो । ‘परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षण सक्ने गरी व्यवस्थापन गरेका छौँ,’ सूचना अधिकारी हरिजनले भने । यसअघि जिल्ला सदरमुकामस्थित शिक्षा इकाइले परीक्षा केन्द्रबाट उत्तरपुस्तिका संकलन गरी अन्तरजिल्ला र प्रदेशमा परीक्षण गर्ने व्यवस्था मिलाउँदै आएको थियो ।
शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी हरिजनका अनुसार प्रदेशभर २२१ वटा परीक्षा केन्द्र छन् । परीक्षा सञ्चालनका लागि २२१ केन्द्राध्यक्ष र ३७३ सहायक केन्द्राध्यक्ष तथा दुई हजार ७२८ जना निरीक्षक परिचालन गरिएको छ । यस्तै, हरेक परीक्षा केन्द्रमा १५ जनाका दरले प्रदेशभर तीन हजार ३१५ प्रहरी, ४६९ जना परीक्षा सहायक र एक हजार १०३ जना सहयोगी कर्मचारी खटाइएको छ ।
प्रतिकृया दिनुहोस