धनगढीस् सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो। प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय भएको छ। बैठकमा प्रदेश प्रमुख नजिर मियाँ ले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषद्बाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई स्वीकृत गर्दै तत्काल कार्यान्वयनमा ल्याउने निर्णय पनि गरेको छ। प्रदेश नीति तथा योजना आयोगले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, सङ्घीय सरकारको सोह्रौँ योजना, संविधान, ऐन–नियम, आर्थिक सर्वेक्षण तथा सरोकारवालासँगको परामर्शका आधारमा उक्त योजना तयार गरेको जनाएको छ।
‘समुन्नत, सुन्दर सुदूरपश्चिम’ भन्ने दीर्घकालीन सोचसहित तयार गरिएको दोस्रो पञ्चवर्षीय योजनाले प्रदेशवासीको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ। योजनामा उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण तथा सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।
योजनाले कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि हासिल गर्ने रणनीति अघि सारेको छ। साथै यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विस्तारमा जोड दिइएको छ। सामाजिक सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने, जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण तथा विपद् जोखिम न्यूनीकरणलाई समेत योजनाले प्राथमिकता दिएको छ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा यी प्राथमिकताहरू समेटिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस