सुदूरपश्चिम महोत्सवको १९ औँ संस्करण भोली देखि, ५०० भन्दा बढी स्टल रहने

युग संवाददाता     37 पटक पढिएको    

सुदूरपश्चिम महोत्सवको १९ औँ संस्करण भोली देखि, ५०० भन्दा बढी स्टल रहने

 


धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग–व्यापार, कला, संस्कृति तथा समग्र विकासका सम्भावनालाई उजागर गर्दै आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको १९ औँ संस्करण यही २०८२ मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नं। १ स्थित पशुपति टोलमा आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि निरन्तर आयोजना गर्दै आएको यस महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवले आर्थिक, सामाजिक प्रतिकूलता र विषम परिस्थितिबाट प्रभावित उद्योग व्यवसायलाई पुनःस्थापित गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष ओझाका अनुसार महोत्सवमा करिब ३ करोड रुपैयाँको लगानी गरिनेछ भने १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ। यस वर्षको महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधि क्षेत्रका गरी ५०० भन्दा बढी स्टल रहनेछन्। सबै स्टल बुक भइसकेका छन् र महोत्सवका लगभग सबै तयारी पूरा भइसकेको जानकारी दिइयो।


बृहत कृषि प्रदर्शनी र स्थानीय उत्पादनलाई प्राथमिकता

महोत्सवमा यस वर्ष बृहत व्यवसायिक कृषि प्रदर्शनी आयोजना गरिनेछ। कृषिमा आएको नवीन प्रविधिलाई व्यवसायसँग जोड्ने उद्देश्यले विशेष प्रदर्शनीलाई प्राथमिकतामा राखिएको अध्यक्ष ओझाले जानकारी दिए। साथै, स्थानीय उत्पादन र महिला उद्यमीलाई विशेष प्रोत्साहन गरिने व्यवस्था गरिएको छ।

कला, संस्कृति र मनोरञ्जनको विशेष प्रस्तुति

सांस्कृतिक तथा प्राकृतिक रूपमा धनी सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रका सम्भावनायुक्त तथा योगदान दिएका कलाकारलाई मञ्चमा प्राथमिकता दिइने कैलाली उद्योग बाणिज्य सघंका सचिव एवं कलाकार सयोंजक प्रकास चन्दले जानकारी दिए। बालबालिका तथा खेलप्रेमी दर्शकका लागि नयाँ खेल तथा मनोरञ्जन सामग्री समेत थप गरिएको छ। महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहितका खाना–खाजाका स्टलहरू रहनेछन्, जसको सरसफाइ र व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गरिएको आयोजकले जनाएको छ।

सुरक्षा, बीमा र विपद् पूर्वतयारी

महोत्सव अवधिभर दर्शक तथा व्यवसायीको सुरक्षालाई ध्यानमा राख्दै पूर्णरूपमा सिसिटिभी क्यामराद्वारा निगरानी, निजी तथा सरकारी सुरक्षाकर्मीको व्यवस्था गरिएको छ। साथै, विमा, दमकल, प्राथमिक उपचार लगायत आकस्मिक सेवाहरू तयारी अवस्थामा रहनेछन्। यस वर्ष महोत्सवमा करिब ७ लाख दर्शक सहभागी हुने अनुमान गरिएको छ। अध्यक्ष ओझाका अनुसार महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मुख्य आयोजक समिति सहित २३ वटा उपसमितिहरू सक्रिय रूपमा परिचालित छन्।

डिजिटल टिकट र सामाजिक योगदान

डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले इसेवासँग अनलाइन टिकट साझेदारी गरिएको छ। अब दर्शकहरूले मोबाइलबाटै इसेवा मार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। महोत्सवबाट प्राप्त आयको केही अंश महिला सशक्तिकरण, लागुऔषध दुव्र्यसनी नियन्त्रण लगायत सामाजिक क्षेत्रमा खर्च गरिने पनि अध्यक्ष ओझाले जानकारी दिए।

टिकट दर

विद्यार्थीस् रु। ५०

सर्वसाधारणस् रु। १००

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिस् निःशुल्क

संघका सदस्यहरूस् निःशुल्क प्रवेश

मुख्य प्रायोजक र संरक्षक

यस वर्षको महोत्सवको मुख्य प्रायोजक निशर्ग अस्पताल एण्ड रिसर्च सेन्टर रहेको छ भने संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ र सुुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघ रहेका छन्। अध्यक्ष ओझाले सुदूरपश्चिम महोत्सव कैलाली उद्योग वाणिज्य संघको मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको पर्वको रूपमा स्थापित भइसकेको भन्दै सबै राजनीतिक दल, सरकारी–गैरसरकारी निकाय, पत्रकार, विद्यार्थी, उद्यमी तथा व्यवसायीहरूलाई आ–आफ्नो तर्फबाट अधिकतम सहभागिता जनाई महोत्सव सफल बनाउन आग्रह गरे। अध्यक्ष ओझाले,“सुदूरपश्चिम महोत्सव २०८२ को अवलोकन गरौं, सहभागी बनौं र यसलाई भव्य र ऐतिहासिक बनाऔं” भन्दै सबैमा हार्दिक आह्वान गरे ।



सोमबार २३, मङि्सर २०८२ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal