पार्टीका कामहरू जनतासमक्ष पुर्‍याउनु आवश्यक छः  पूर्वमन्त्री भट्ट

युग संवाददाता     126 पटक पढिएको    

पार्टीका कामहरू जनतासमक्ष पुर्‍याउनु आवश्यक छः  पूर्वमन्त्री भट्ट

 

कञ्चनपुर / नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज पूर्वमन्त्री लेखराज भट्टले सरकारका सकारात्मक कार्यहरूलाई जनतासमक्ष पुर्‍याउनु आवश्यक रहेको बताएका छन् । पूर्वमन्त्री भट्टले मङ्गलवार कञ्चनपुरमा आयोजित प्रेस चौतारी नेपालको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नकारात्मक प्रचार बाजिको प्रभाव न्यून गर्न पत्रकारिता क्षेत्र थप जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले जनतालाई सही सूचना प्रदान गर्दै भ्रामक गतिविधिहरूलाई निस्तेज पार्नुपर्ने उल्लेख गरे ।

पछिल्लो समय सरकार र राजनीतिक दलहरूप्रति वितृष्णा फैलाउने गतिविधिहरू बढ्दै गएकाले सत्यतथ्य जानकारी गराउने जिम्मेवारी पत्रकारहरूले निर्वाह गर्नुपर्ने उनले बताए । अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए । त्यस्तै, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लोगशरी कुँवरले प्रेस चौतारी नेपालमा आबद्ध पत्रकारहरूले पार्टी गतिविधिलाई जनतासमक्ष पुर्‍याउनुका साथै गलत सूचनाको प्रतिवाद गर्नुपर्ने धारणा राखे । कार्यक्रम प्रेस चौतारी नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मण पन्तको अध्यक्षतामा आयोजना गरिएको हो । अधिवेशनमा पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता, सञ्चार माध्यमहरूको दायित्व र पत्रकारिताको गुणस्तर अभिवृद्धि जस्ता विषयमा वक्ताहरूले धारणा राखे 

प्रेस चौतारी नेपालका नेताहरूले पत्रकारिता क्षेत्रलाई थप संस्थागत रूपमा सबल बनाउन आवश्यक रणनीतिहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता, प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रसाद जोशी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरू, अकोराब तथा बानका प्रतिनिधिहरू, प्रेस चौतारी नेपालका पदाधिकारी तथा सदस्यहरू, नेपाल प्रेस युनियन, प्रेस सेन्टरका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू तथा पत्रकारिताका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।



मङ्गलबार १३, फागुन २०८१ ०१:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal