सुदूरपश्चिममा  ओल्के पर्व मनाइदै

युग संवाददाता     174 पटक पढिएको    

सुदूरपश्चिममा  ओल्के पर्व मनाइदै


 
धनगढी । डोटेली संस्कृतिमा हरेक महिनाको पहिलो दिन सङ्क्रान्तिलाई पर्वका रूपमा मानिन्छ । हरेक महिना परिवर्तन हुँदा सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेको हुन्छ । त्यस दिनलाई शुभकार्यका लागि अपुच्छ्य दिन पनि भनिन्छ । वैशाखलाई बिसु, साउनलाई हरेली भने जस्तै भदौ सङ्क्रान्तिलाई ओल्के भन्ने गरिन्छ । भदौ १२ महिनामध्येको एक महिना हो । साउनबाट भदौ सुरु हुँदा सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गरेको हुन्छ । त्यसैले सिंह सङ्क्रान्ति पनि भनिएको हुन्छ । भद्रा नक्षत्रबाट भाद्र भनिएको हो ।


प्राचीन ज्योतिषशास्त्रको चन्द्रमास प्रणाली अनुसार भाद्र महिना श्रावणपूर्णिमाको भोलिपल्टदेखि सुरु हुन्छ भने सौर्यमासका अनुसार सिंह सङ्क्रान्तिको दिनदेखि भदौ महिनाको सुरुवात मानिएको छ तर शाक्य पञ्चाङ्गमा भने भदौ महिना सिंह सङ्क्रान्तिको पाँच दिनपछाडि सुरु हुन्छ । प्रायः सौर्यमास सूत्रलाई नै अपनाइएको देखिएको छ । भदौ वर्षा ऋतुको दोस्रो महिना हो । अङ्ग्रेजी महिनाको आधा अगस्त र आधा सेप्टेम्बर भदौभित्र पर्छ । सामाजिक परम्परा र रीतिरिवाज अनुसार ओल्को दिइने दिन भएकाले ओल्के भनिएको हो । ओल्को भन्नाले ओलक, उपहार, कोसेली मानिन्छ । प्राज्ञ नेपाली बृहत् शब्दकोशमा ओल्को भन्नाले १० भाद्र सङ्क्रान्ति, भदौ २० भाद्र सङ्क्रान्तिका दिन तल्लो जातले माथिल्लो जातका मानिसलाई दिने कोसेली ९फलफूल, सागपात आदि०, ३० भाद्र सङ्क्रान्तिका दिन आफन्त, मान्यजनका घरमा लगी दिइने फलफूल सागपात आदि कोसेली वा त्यस्तो कोसेली दिने पर्व ।


सुदूरपश्चिममा ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुला बडा मान्यजन वा ज्येष्ठ नागरिकलाई कर्कलाको भित्री पात ९गाभा०, फलफूल आदि दिनु, मिठोमसिनो खानु यस पर्वको विशेषता हो । यस्तै सागपात अन्न, दुध, दही, घिउ आदि लगेर मान्यजनकहाँ भेटघाट गर्ने चलन छ ।

हरेक उत्पादनको पहिलो अंश देवतालाई चढाउने गरिन्छ । अन्न देवतालाई चढाउने कार्यलाई न्वागी भनिन्छ भने फलफूल, सागपात ओल्कोका रूपमा देवतालाई पनि उपहार दिने गरिन्छ । देवताको मन्दिरबाट सुरु गरिएको ओल्को दिने कार्य आफूसँग सम्बन्धित सबैको घर घरमा पु¥याइन्छ । भदौ १ गते बिहानै उठी नुहाइधुवाइ गरेर विभिन्न परिकार बनाएर आपसमा मिलेर खाने चलन छ । यसै गरी यो दिन आआफ्नो पेसासँग सम्बन्धित औजारहरू जस्तै सिन्का, पात, चिम्टा, चुलेसी आदि आफन्तलाई उपहारका रूपमा ओल्को दिने चलन पनि छ । यो पर्व सुदूरपश्चिमवासीको मौलिक एवं जेठो पर्वका रूपमा मनाइन्छ ।

ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो, गतानी डुब्का, भक्के रोटो, रोट, माणा, खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । गतको फाणोलाई निकै महत्वका साथ लिइन्छ । डोटेली संस्कृतिमा चाडपर्वलाई त्यार भन्ने गर्दछन् । त्यारमध्ये ओल्के पहिलो त्यार मानिन्छ । चाडपर्वमा परिकार बनाउन अन्न आदि छुट्याइन्छ । यसरी छुट्याइएको सामग्रीलाई त्यार वाणो भन्ने गरिन्छ । आफूसँग नभएमा छिमेकीसँग त्यार वाणो मागेर भए पनि चाडपर्व धुमधामसँग मनाइने गरिन्छ ।



शनिबार ०१, भदौ २०८१ १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal