पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

युग संवाददाता     211 पटक पढिएको    

पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

काठमाडौं / भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर) जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

हिजो काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।

समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतका तर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार एनएचपीसीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत् परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ ।

सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र तोकिएका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ । कार्यक्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए उनले   । उनले   ४० वर्षदेखि चर्चामा रहेको आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा परियोजना विकासका सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको र यो त्यसैको निरन्तरताको रूपमा रहेको पनि प्रधानमन्त्री देउवाको भनाइ छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, वन तथा वातावरणमन्त्री प्रदीप यादव, सुदूरपश्चिम प्रदशेका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतको उपस्थिति रहेको थियो । 



शुक्रबार ०३, भदौ २०७९ ०७:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.