कैलालीका २५ सय उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च

युग संवाददाता     283 पटक पढिएको    

कैलालीका २५ सय उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च

धनगढी / स्थानीय तह निर्वाचन सम्पन्न भएको ३ महिनासम्म पनि कैलालीका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्। जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लामा  तीन हजार ७३ जनाले उम्मेदवारी दिएका थिए।

तर उनीहरूमध्ये ५७० जनाले मात्रै उम्मेदवारले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।  निमित्त प्रमुख भट्टका अनुसार अब २ हजार ५०३ जनाले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको जनाएको छ ।

मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने भए पनि कैलालीका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । १३ स्थानीय तह रहेको कैलालीमा खर्च विवरण बुझाउने ५७० मध्ये कार्यपालिका सदस्य पनि रहेको जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । उम्मेदवारले सम्पूर्ण खर्च विवरण स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा २ र स्थानीय तह निर्वाचनसम्बन्धी २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताबमोजिम खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।

निर्वाचन खर्च नबुझाएकै कारण दलले आफ्नो गरिमा गुमाउँदै गएको जानकारको भनाइ छ । उम्मेदवारले मतपत्र खरिद, सवारी साधन तथा गाडी घोडाको प्रयोग, सवारी तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायत विविध निर्वाचन खर्च विवरण पठाउनुपर्ने नियम छ । निर्वाचन आयोग ऐनमा उम्मेदवारले खर्च विवरण नबुझाएमा ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ। ६ महिनासम्म जरिवाना नतिरेमा ६ वर्षसम्म उम्मेदवार हुनै नपाउने कानुनी व्यवस्था समेत कानुनमा छ। 



बुधबार ०१, भदौ २०७९ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal