मनोज लामिछाने
नेपालको रामेछाप जिल्लामा २५ मार्च, १९५७ मा जन्मिएका वरिष्ठ अर्थोपेडिक सर्जन डा गोबिन्द केसी दक्षिण एशिया लगायत बिश्वका धेरै जनताका मन मनमस्तिष्कमा गुन्जीरहने नाम हो । गरिव, असहाय, निमुखा, विपन्न, पछाडी पारिएका र पछाडी परेका जनताको स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १८ पटकसम्म अनसन बसेर राज्यसंग लडदै आएका डा केसी सादा जीवन उच्च विचार राख्ने सरल व्यक्तिका नामले सबैको माझ परिचित छन् ।
नेपाल अहिले कोरोना भाइरसको चपेटामा छ । कोरोनाको कहरले जनतामा आतंक फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्कन डराईरहेका छन् । राज्य संचालनका ठेक्का लिएर बसेकाहरु आन्तरिक सत्ता कलहमा अल्झिरहेकाछन् । देशमा कालाबजारी, भ्रष्टाचारी, घुसखोरी, बालात्कारीहरुको बिगबिगी छ । देशमा न्याय हराउदै गईरहेको छ । अधिकांश व्यक्तिहरु आफ्नो दुनो सोझाउनमै व्यस्त छन् ।यसको बिपरित एउटा व्यक्ति काँधमा सामान्य झोला बोकेर आफ्नै खर्चमा नेपालका दुर्गम जिल्लाका अति दुरदराजका गाउँहरुमा घन्टौ हिडेर गरिब, निमुखा, असहायहरुको सेवाका लागि उनीहरुको घरआँगनमा बिना स्वार्थ देवदूत बनेर पुगिरहेका छन् ।
नेपालमा मात्र होइन विदेशमा समेत आपत आइलाग्दा त्यहाँका जनतालाई आकस्मिक सेवा प्रदान गर्न पुगी हाल्छन् केसी । भारतको गुजरातमा सन् २००१ मा र २००५ मा पाकिस्तानमा गएको भूकम्पको चपेटामा परेका नागरिकहरुको स्वास्थ्य सेवाका लागि उनि त्यहाँ पुगेका थिए । २००८ मा म्यानमारमा नर्गिस तुफानबाट दुख पाएकाहरुका सेवाका लागि मदत गर्न पुगेका थिए । सन् २०१० हैटीमा गएको भूकम्पमा परेका २३२ जना नागरिकहरुको अपरेशन गरेका थिए । त्यस्तै सन् २०१३ मा सुनामीले प्रभावित व्यक्तिहरुको उपचार गर्न फिलिपिन्समा पुगे । यस अर्थमा उनि नेपालका मात्रै नभएर अन्य देशका जनताहरुका पनि देवदूत बनिरहेका छन् । मै खाउ मै लाऊ, सुख सयल मोज गरौ अरु सव मरुन दुर्बलहरू भन्ने संस्कारबाट हुर्किरहेको समाजमा डा केसी आफ्नो जीवनभरको कमाई दुखि गरिबको उपचारमा खर्च गर्दै हिडिरहेका छन् ।
बिश्व अहिले कोरोना भाइरसको महामारीको संक्रमणको दलदलमा फसेको छ । ओडोमिटरमा दिएको तथ्यांक अनुसार, कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका करिब ८ लाख जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या डेढ करोड नाघेको छ। नेपालमा अहिलेसम्म यस रोगबाट मृत्यु हुनेहरुको संख्या एक सय नाघेको छ भने संक्रमित हुनेहरुको संख्या २६ हजार नाघेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेकोछ । देशका बिभिन्न जिल्लाहरुमा यसले आफ्नो उपस्थिति जनाइसकेको छ । जनताका नाम बेचेर सांसद भएकाहरु र देशको मुख्य मुख्य पद हासिल गरेका अधिकांश नेताहरु ज्युहरु आफ्नो गृह जिल्लामा टेकेका छैन् ।
गरिब जनताको गाँस, बास, कपास, स्वास्थ्य र सुरक्षाको ग्यारेन्टीको नारा दिएर सत्ता हत्याउन सफल नेकपाको बहुमतको सरकार देशमा लकडाउन भए यता आआफ्नो स्वार्थका कारण दिनहुँ झगडा गरिरहेका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका अन्य दलहरुको अवस्था पनि त्यहि छ । जनता कोरोना भाइरस, बाढी, पहिरोका कारण दैनिक रुपमा ज्यान गुमाइरहेका छन् । युबाहरु बेरोजगार भैरहेका छन् । बजारमा उपभोग्य बस्तुको कमि हुदै गइरहेकोछ भने भएका उपभोग्य बस्तुको मूल्य सुन्दा जनताहरु भोक भोकै बस्न बाध्य हुने अवस्था छ । जनता मानसिक चिन्ताका कारण आत्महत्या गरिरहेका छन् । देश भ्रस्टाचारमा चुर्लुम्म डुबिरहेको छ । अहिलेको अबस्थामा जनताको करबाट उठेको रकम खाएर हाम्रा नेताहरु नैतिकतालाई थातिराखी सत्ता स्वार्थका लागि झगडा गरिरहनु यो भन्दा दुर्भाग्य के हुन् सक्छ रु
रामेछाप जिल्लाको एउटा कुनामा जन्मिएको एक व्यक्ति जो आफ्नै बल बुत्तामा वरिष्ठ अर्थोपेडिक सर्जन हुन्छन् र आफ्नो जिन्दगीभरको कमाई बिनास्वार्थ दुर्गम जिल्लाका गरिब जनताहरुको सेवामा खर्चिन्छन् । यो भन्दा उच्च भावना के हुन् सक्छ रु अहिलेका नेताहरुमा अलिकति पनि नैतिकता छ भने आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर उनको काममा होस्टे हैसे गरेभने पनि अहिलेसम्म जनताको नजरमा गिरेको साख अलिकति भएपनि जोगिने थियो । अहिले देशका सबै जिल्लाहरु कोरोना महामारीको चपेटामा छ । डा केसी झोला च्याप्दै आफ्नो ज्यानको चिन्ता नगरि दुर्गम जिल्लाहरु बाजुरा, हुम्ला, कालिकोट, डोल्पा, जुम्ला हुँदै मुगुसम्म पुगेर जनताहरुको निशुल्क उपचारमा तल्लिन छन् ।
डा केसी आर्थिक अबस्थाका कारण, रुख तथा भिरबाट खसी घाइते भई अस्पताल पुग्न नसक्नेहरु, पिडौलाको समस्याले बर्षौदेखि समस्यासँग जुधिरहेकाहरु, हड्डी चर्कीएर उपचार गर्न नसकेर बसेकाहरु, खुट्टामा संक्रमण भएर पिडा सहेर बसेकाहरु, गाईवस्तु चराउन जादा लडेर हात भाँचिएर समयमा शल्यक्रिया गर्न नसकेर बांगिएको हात लिएर बसेकाहरुको शल्यक्रिया गरेर निको पारिदिन्छन् । पैसा नभएर उपचार गर्न नसकेर बांगिएको हात लिएर बसिरहेकी रेश्मा भामाकि आमा दन्ता भाम भन्छिन्, “कोरोना फैलिएको बेला कसैलाई बाहिर जान दिदैनन् तर डाक्टर केसीले हाम्रो गाउँमा आएर छोरीको बांगिएको हातको अप्रेसन गरेर ठिक गरिदिनुभयो, उहाँ हाम्रा लागि भगवान नै हो ।”
माथि उल्लेखित उनले गरेका कामको सामान्य झलक र उनलाई भगवानको रुपमा हेर्नेहरु प्रतिनिधि पात्र मात्र हुन् । उनि त देश बिदेशका हजारौ व्यक्तिका देवदूत भएका छन् । डा केसीले देशका सबै जिल्लाहरुमा यात्रा गरेका छन् र ६० वटा भन्दा बढी मेडिकल क्याम्पहरु चलाएका छन् । गरिब, असहाय, निमुखा, विपन्न, पछाडी पारिएका र पछाडी परेका जनताको सेवामा समर्पित हुने धेरै डाक्टरहरु, बुद्धिजीविहरु, समाजसेवीहरु, स्वास्थ्यकर्मीहरु, पत्रकारहरु, राष्ट्र सेवक कर्मचारीहरु पनि छन् । जसले निस्वार्थ सेवाभावले सेवा गरिरहेकाछन् । उनीहरुको योगदान पनि कम छैन । यद्यपी, डा केसी अरु भन्दा पृथक छन् । उनी समाजका लागि एक प्रेरणाका श्रोत हुन् । हामीले अलिकति पनि डा केसीको सिको गर्दै गरिब, असहाय, निमुखा, विपन्नहरुको सेवामा आफ्नो दक्षता अनुसार आफुलाई उनीहरुको सेवामा समर्पित गर्ने हो भने आफु मानव भएकोमा गर्व गर्न सकिन्थ्यो ।
प्रतिकृया दिनुहोस