कोरोनाबाट जोगिन ‘लक डाउन’मा गाउँलेका आफ्नै नियम

लक डाउन

Yugnepal     1097 पटक पढिएको    

कोरोनाबाट जोगिन ‘लक डाउन’मा गाउँलेका आफ्नै नियम

धनगढी– शहर बजारमा ‘लक डाउन’को पालना गर्न प्रहरीले कडाई गरिरहेका बेला गाउँघरमा भने सुरक्षा निकायको उपस्थिति छैन। कोरोना भाइरसका कारण त्रसित बनेका गाउँलेहरुले प्रहरीको उपस्थिति नभए पनि कोरोना संक्रमण नियन्त्रणका लागि लक डाउनमा आ–आफ्नै नियम बनाएका छन्।

केहीले गाउँमा लकडाउनको पालना नगरी ओहोरदोहोर गर्न थालेपछि स्थानीयले नियमहरु बनाएर लागू गर्न थालेका छन्। लकडाउनका बेला मानिसहरु आवतजावत गर्न थालेको भन्दै कैलालीका ग्रामिण क्षेत्रका स्थानीयले बाटो अवरुद्ध गरेर हिँडडुलमा प्रतिवन्ध लगाएका छन्।

कैलालीको मध्यवर्ती क्षेत्र मसुरियाका अधिकांश गाउँका स्थानीयले सडकमा लठ्ठी तथा ढुंगामुढा राखेर आवागमन अवरुद्ध पारेका छन्। गौरीगंगा नगरपालिका वडा नम्बर–८ स्थित लिक्मा गाउँका स्थानीयले मट्कौना गाउँ छुट्याउने गरी सडकमा बाँस बाँधेर सडक अवरुद्ध गरेका छन्।

‘मानिसहरु आफू खुसी रातदिन हिँडडुल गर्न थालेका छन, उनीहरु हिँडडुल नगरुन् भनेरै हामीले सडक अवरुद्ध गरेका हौँ’, स्थानीय घनश्याम पौडेलले भने, ‘यहाँ प्रहरी उपस्थित नहुँदा पनि यसले गर्दा मानिस जथाभावी हिँडडुल गर्न रोकिएको छ।’

सडकमा बाँस बाँधेर बाँसमा पनि कोरोना सम्बन्धी चेतनामूलक सन्देश टाँसिएको उनले बताए। लिक्मा गाउँमा जस्तै मट्कौना र कैलाशपुर छुट्याउने सीमामा मट्कौनाका युवाहरु मिलेर बाँस बाँधेर सडक अवरुद्ध गरेका छन्। उनीहरुले पनि आफू अर्काको गाउँमा नजाने र अरु पनि आफ्नो गाउँमा नआउने सहमति गर्दै सडक अवरुद्ध पारेको बताएका छन्।

यता धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १५, १६ लगायतका ग्रामिण क्षेत्रका वडाहरुमा त्यहाँका स्थानीय युवाहरुले सडकमा मुडा राखेर सडक अवरुद्ध पारेका छन्। कोरोना भाइरसबाट बच्न र आफ्नै घरलाई सुरक्षित सम्झदै भारत गएका तथा नेपालकै अन्य शहर गएकाहरु घर फर्किदै छन्। तीनै घर फर्कीएका नेपालीहरुमा कतै कोरोनाको संक्रमण छ की भन्ने चिन्ता स्थानीयहरुमा बढ्दै गएपछि आफ्नो गाँउघरका सडकमा ठाउँँठाउँमा मुढा तेर्स्याएर बाटो नै बन्द गर्न थालेका छन्।

कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १४ का अधिकांश गाउँहरुका युवाहरुले सडाकमा मुढा तेर्स्याएर मानिसहरुको आवागमन कम होस् र कोरोना संकक्रणबाट गाँउ जोगियोस् भन्दै सडक अवरुद्ध गरेका छन्। स्थानीय राजाराम चौधरीले भने, ‘भारतबाट आएकाहरुलाई उचित चेकजाँच र परामर्श बिना गाउँ प्रवेश नगराईयोस् भन्दै बाटो अवरुद्ध गरेका हौँ।’

वडा नम्बर १४ का वडा अध्यक्ष रामबजारी थारुले भने, ‘भारतबाट नेपाल आएका नेपालीहरुमा कतै कोरोना पो छ की भन्ने आशंकाले स्थानीयहरु निकै त्रसित छन्, हामी जनप्रतिनिधिहरु उनीहरुलाई व्यवस्थापन र परामर्शमा खटिएका छौँ’, गाउँका धेरै ठाउँका सडक स्थानीयहरु अवरुद्ध गरेको उनले बताए ।

योसँगै सुदूरपश्चिमका हरेक जिल्लाका ग्रामिण बस्तीमा कोरोना भाइरसको त्रास बढिरहेको छ। शहरमा सामान्य बिरामी हुँदा औषधिसँगै परामर्श पाउने भएपनि गाउँघरमा केही नहुँदा बढी चिन्तित छन्।

बाजुरा जिल्लाको दुर्गम छेडेदह गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष विरबहादुर रावलले कोरोनाको त्रास गाउँघरमा धेरै रहेको बताए।

उनले भने, ‘कोरोना भाइरसका बारेमा जानकारी नै छैन। चारैतिर कोरोना लागे मरिन्छ भन्ने हल्लाले स्थानीयहरु आतंकित बनेका छन्।’ उनले सडक सुविधा समेत नभएकाले कसैलाई कोरोना भइरसको लक्षण देखिए के गर्ने भन्ने अन्योल रहेको बताए।

सुदूरपश्चिमको अर्को पहाडी जिल्ला डोटीको बडिकेदार गाउँपालिकाका स्थानीय नरेन्द्र बोहोराले गाउँघरमा कोरोना भाइरसका बारेमा चेतना नै नभएको बताए। उनले भने, ‘यो लागे मरिहाल्छन् भन्ने मात्र बुझेका छन्, त्यही डरले गाउँघरमा अत्याधिक त्रास छ।’

सुदूरपश्चिमका तराईका जिल्ला कैलाली कञ्चनपुर वाहेका अन्य ७ वटा पहाडी जिल्लाका ग्रामिण बस्तीमा चेतनाको अभाव रहेको त्यहाँका स्थानीय बताउँछन्।

भारतबाट नेपाल फर्केका अधिकांश नेपालीहरु यिनै पहाडी जिल्लामा बसेका छन्। त्यहाँ गएका उनीहरुको कुनै स्वास्थ्य परीक्षण नभएको स्थानीय बताउँछन्।

बाजुराको छेडेदह गाउँपालिका १ का अध्यक्ष विरबहादुर रावलले आफ्नो वडामा मात्र २ सयभन्दा बढी स्थानीय भारतबाट फर्केको बताउँदै उनीहरु कसैको पनि स्वास्थ्य परीक्षण नभएको बताए।



आइतबार १६, चैत २०७६ ०६:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.