सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कृषि कार्यक्रम संचालन हुँदै

प्रदेशका ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति

Yugnepal     955 पटक पढिएको    

महादेव गिरी , २३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम संचालन हुने भएको छ ।

मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निर्माण र साना सिँचाइ सहयोग जस्ता कार्यक्रम संचालन हुने भएको हो ।

परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने नारासहित प्रदेशका ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति प्रदेश सरकारको छ ।

कार्यक्रम अन्तर्गत चालु आवमा १९ करोड बजेट विनियोजन गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले साना सिँचाइ कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत शुरु भइसकेको र मन्त्रालय मार्फत सञ्चालन हुन लागेको कृषि औजार उपकरण अनुदान र शीत भण्डार गृह निर्माणका लागि कार्यविधि बनिरहेकोे बताए ।

सरकारी(निजी(साझेदारी अवधारणा अनुरुप कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडीमा १(१ शीत भण्डारगृह निर्माण गर्ने लक्ष्य रहेको छ ।

यस्तै प्रदेशका ९ वटै जिल्लाका किसानलाई तोकिएको मापदण्डका आधारमा ५० प्रतिशत अनुदानमा कृषि औजार उपकरण अनुदान उपलब्ध गराउन लागिएको छ ।

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडमार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएकोमा किसानलाई उखु र चैतेधानको बीउ पनि वितरणको प्रक्रिया शुरु गरिएको छ । गहुँको बीउ १ हजार ३१८ हेक्टरमा पुग्ने गरी वितरण गरिएको छ ।

बाढी, डुबान र नदीकटानको जोखिम रोक्नका लागि कैलाली र कञ्चनपुर जिल्लाको बाढी, डुबान र नदीकटानको जोखिम मानिएका क्षेत्रको जग्गामा उखु खेती गर्न यसको बीउसमेत ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन लागिएको प्रवक्ता पोखरेलले बताए ।

७०८ हेक्टर क्षेत्रमा उखु खेती गर्ने माग भएकोमा चालू वर्षमा २८० हेक्टरका लागि मात्र बीउमा अनुदान दिन सकिने जनाइएको छ । दलहन बाली मुङको खेती गर्नका लागि पहिलो पटक मन्त्रालयले यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न लागेको छ ।

एक बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न सकिने मापदण्ड बनाइएको छ । ‘एक घर ५ फलफूल बिरुवा वितरण कार्यक्रम’ अन्तर्गत प्रदेशका ७ पहाडी जिल्लामा स्याउ, अम्बा, नास्पती, आरुबखडा, ओखरलगायतका झण्डै ७५ हजार फलफूलका बिरुवा वितरण भइरहेको छ ।



बुधबार २३, माघ २०७५ ०८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.