करोडौं ठगी गर्ने एसोसिएसन अफ एग्रीकल्चर नेपालका सञ्चालक पक्राउ

Yugnepal     1053 पटक पढिएको    

करोडौं ठगी गर्ने एसोसिएसन अफ एग्रीकल्चर नेपालका सञ्चालक पक्राउ


धनगढी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का गणेशदत्त भट्ट करोडौं रुपैयाँको ठगी गरेको आरोपमा पक्राउ परेका छन् । ‘एसोसिएसन अफ एग्रीकल्चर नेपाल’ नामक संस्थाको विभिन्न ठाउँ शाखा विस्तार गर्दै किसानहरुलाई ठगी गर्दै आएको आरोपमा भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता ९डिएसपी० दक्ष कुमार बस्नेतले गणेशदत्तलाई आईतबार साँझ धनगढीको चटकपुरमा प्रक्राउ गरिएको जानकारी दिए ।
गणेशविरुद्ध कृषि र पशुपालन क्षेत्रमा काम गर्ने भन्दै देशका विभिन्न जिल्लाका किसान र सर्वसाधारणबाट करोडौं रुपैया ठगी गरेको आरोप छ ।
उनले सुदूरपश्चिम नौं वटै जिल्ला तथा बांके, बर्दिया, पाल्पा, गुल्मी, मकवानपुर सहितका जिल्लामा ‘एसोसिएसन अफ एग्रीकल्चर नेपाल’ नामक संस्थाको विस्तार गरेको बताइन्छ ।
उनले संस्थामार्फत किसानहरुलाई समुह बनाउन लगाउने र तरकारी र फलफूलका बिरुवा वितरण गर्ने, तालीम दिने, उन्नत जातका भेडा बाख्रा, गाईभैंसी दिने भन्दै प्रति किसान दुई हजारदेखि पाँच हजार रुपैया संकलन गरेको बताइन्छ ।
सो संस्थाको शाखा कार्यालयमा सामाजिक परिचालक, म्यानेजर, प्राविधिक जस्ता विभिन्न पदमा जागीर लगाईदिने भन्दै रकम लिने गरेको बताइन्छ । त्यस्तै, सर्वसाधारणबाट अग्रीम धरौटी भन्दै एक लाखदेखि पाँच लाख रुपैयासम्म असुल गर्दै आएका थिए । उनले अग्रिम धरौटीको आधारमा तलब तोक्दै नियुक्ति पत्र दिने र किसानबाट रकम संकलन गर्ने काममा लगाउने गरेका थिए ।
उनले सो संस्थाको कञ्चनपुरको शुक्लाफाटा शाखा कार्यालयमा म्यानेजर बनाईदिने भन्दै स्थानीय गोविन्द पाण्डेबाट डेढ लाख रुपैया रकम लिएका थिए । गोविन्दले भने— उसले ६ महिनापछि फिर्ता हुन्छ भन्दै धरौटी भनेर डेढ लाख रुपैया लग्यो । मलाई २७ हजार पांच सय रुपैया तलब उल्लेख भएको नियुक्ति पत्र दिएर कार्यालयमा राख्यो । तर एक वर्षसम्म न तलब पाईयो, न रकम नै फिर्ता पाए ।
गोविन्द जस्तै, सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा विस्तार गरेका शाखा कार्यालयका म्यानेजरबाट पनि उनले डेढ लाखदेखि तीन लाख रुपैया लिएका थिए ।
शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का राधिका पाण्डेले पनि सो संस्थामा सामाजिक परिचालक पदमा नियुक्ति पाए पनि एक वर्षदेखि तलब नपाएको बताइन् । राधिकालाई किसानबाट दुई हजार रुपैया संकलन गर्ने काम दिईएको थियो । राधिकाले भनिन्– किसानबाट संकलन गरिएको रकमबाट २५ प्रतिशत मलाई तलबका रुपमा दिने भनिएको थियो । छ महिनापछि १५ हजार तलब दिने भन्दै १० जना सामाजिक परिचालकहरुले एक सय ३० जना किसानबाट संकलन गरेको दुई लाख ६० हजार रकम लिएर गणेशदत्त भागे ।
संस्थाको कार्यालय राख्न विभिन्न ठाउँमा घर भाडामा दिएका धरधनीले लामो समयसम्म भाडा रकम नपाएपछि गणेशविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
संस्थाका कर्मचारी विनोद चौधरीले म्यानेजर बनाउने भन्दै रकम लिएको, तर पछि फिर्ता गर्ने बेला रकम नै नभएको चेक दिएर गणेश सम्पर्कविहिन भएको बताए । उनले घरधनीले लाखौ रुपैया पाउनु पर्ने, किसानको रकम फिर्ता नभएको बताए ।
यस्तै धनगढी पुरानो भन्सार रोडका रहेको कालिका काष्ठ फर्निचर उद्योगका सञ्चालक बसन्तराज जोशीले आफूबाट दुई लाख रुपैया बढीको कार्यालयको लागी भन्दै फर्निचर सामग्री लगेर रकम नदिएको बताए । उनले रकम माग्न जादा बैंकमा रकम नभएको चेक दिएको बताए ।
त्यस्तै, धनगढीकै कमल लक्ष्मी फर्निचरबाट पनि सो संस्थाले कार्यालय सञ्चालनको लागि भन्दै फर्निचर लिएको र रकम भुक्तानी नगरेको बताइएको छ ।
त्यस्तै, धनगढीको चौराहामा रहेको नेपाल एग्रोभेटबाट लाखौं रुपया“को बिउ विजन लिएको र रकम नदिएको भन्दै एग्रोभेट सञ्चालकले संस्थाको धनगढी हसनपुरमा रहेको कार्यालयबाट फर्निचर लगाएत विभिन्न सामग्री लगेको बताइएको छ । अनुमोदन बाट



मङ्गलबार ०७, माघ २०७६ ०६:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.