वीर अस्पताल थला पर्ने सम्भावनामा रहेको खुलासा

Yugnepal     720 पटक पढिएको    

वीर अस्पताल थला पर्ने सम्भावनामा रहेको खुलासा

कास्की– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आर्थिक अनियमितता र भ्रष्टाचारले गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पताल जस्ता अस्पतालहरू थला पर्ने सम्भावना रहेको छ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले बिहिबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले यी अस्पताहरूमा धेरै नै बेथितिहरू रहेको पनि बताए ।
उनले मन्त्रालयमा पनि यस्ता बेथितिहरू रहेकोले शुरुआतमा मन्त्रालयको नै बेथितिलाई सुधार गर्नुपर्ने बताए । उनले मन्त्रालयभित्रबाटै शुद्धीकरणको अभियान चलाउनुपर्ने पनि बताए । वीर अस्पतालमा ४६ करोड लागतमा किनिएका दुई वटा मेसिन लामो समयदेखि प्रयोगमा नआएकोले त्यसमा पनि केहि शंका गर्ने ठाउँ रहेको बताए । उनले भने, ‘जनताको सेवामा आउन नसकेको र बिग्रन्छ की भनेर सुरक्षाकर्मीको सुरक्षामा राखिएको छ, किन त्यसरी राखियो ।’ उनले त्यो मेसिन किन्दा त्यहाँ आर्थिक अनियमितता रहेको जानकारी पाएको बताए ।
स्वास्थ्य क्षेत्र अन्यको तुलनामा ठूलो क्षेत्र भएकाले सुधारको अनुभूतिका लागि समय लाग्ने पनि उनको तर्क थियो । उनले आफ्नो कार्यकालमा यो क्षेत्रमा सुधार ल्याएर नै छोड्ने अठोट गरेका छन् । उनले भने, ‘यो स्वास्थ्य क्षेत्र अन्यको तुलनामा धेरै ठुलो समस्या देखेको छु, यसको समाधान गर्ने अठोट लिएको छु ।’
त्यस्तै मन्त्री ढकालले चिकित्सकहरूले विकट जिल्लामा गएर सेवा नदिँदा समस्या आईरहेकोले त्यसको समाधान पनि आफ्नो प्राथमिकतामा परेको बताए । उनले भने, ‘दुई वर्ष पहाडी तथा हिमाली जिल्लामा गएर सेवा गर्नुको विकल्प छैन, अब त्यसका कुनै सम्झौता हुँदैन ।’
पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने जानकारी गराए । उनले लगातार तीन दिनभन्दा बढी बहिरङ्ग विभागको सेवा बन्द हुन नहुनेमा जोड दिँदै यसमा सुधार गर्नुपर्ने बताए ।



शनिबार ०४, माघ २०७६ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.