सभामुख नछाड्ने पूर्व माओवादीको अडान

Yugnepal     896 पटक पढिएको    

सभामुख नछाड्ने पूर्व माओवादीको अडान

काठमाडौँ । प्रतिनिधिसभाको बैठक पुस ४ गते बस्दैछ र हिउँदे अधिवेशनको पहिलो काम सभामुख तोक्ने रहेको छ। यसका लागि बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी  नेकपा भित्र माथापच्चिसी चलिरहेको छ। बाहिर भनिँदा सभामुखमा पूर्व सभामुख सुवास नेम्वाङको नाममा सहमति भइरहेको दावी गरिन्छ । तर यथार्थ योभन्दा फरक छ ।

सुवास नेम्वाङका नाममा सहमति जुटाउनु पर्यो भन्ने सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीको खेमा अब पूर्व एमाले र माओवादी भन्ने रहेन भन्ने तर्क गर्छ । तर पूर्व माओवादीमध्ये कसैलाई दिनुपर्यो भने पहिले दिएको त हो नि भनेर भाग पूरा भएको जनाउँने गरेको एक पूर्व माओवादी नेता बताउँछन्।

पूर्वसभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा पूर्पक्षका लागि थुनामा रहँदा नयाँ सभामुख चयनको प्रक्रिया कठिन मोडमा पुगेको छ ।

महराको मुद्दामा बकपत्र चलिरहेको छ । उनले गत असोज १४ गते यो घटना मिडियामा सार्वजनिक भएपछि नेकपा सचिवालय बैठकको जोडबलमा राजीनामा दिएका थिए ।

खुमलटारमा पूर्वमाओवादीको भेला  

सभामुख पद आफूहरुले पाउनु पर्ने अडानमा पूर्व माओवादीका नेताहरु देखिएका छन् । खुमलटारसथित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक नै बसेर कुनै पनि हालतमा सभामुख आफूहरुलाई चाहिने बताएका हुन् ।

जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार बिहान प्रचण्ड निवास पुगेका थिए ।

माओवादीका नेताहरुले स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्न पनि प्रचण्डलाई सुझाव दिएका छन् ।

उक्त भेलामा गृहमन्त्री रामबहादुर थापा बादल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, उर्जा मन्त्री वर्षमान पुनलगायत नेताहरु सहभागी थिए ।

नेकपाको स्थायी समितिमा रहेका पूर्वमाओवादीका अधिकांश नेताहरु खुमलटार पुगेका थिए ।

प्रचण्ड ढुलुमुलमै

प्रचण्डले अझै पनि ढुलुमुलमै छन् । उनले अर्का अध्यक्ष केपी शर्मा ओलीसंग भएका कुराहरु आफ्नै नेताहरुलाई पनि खुलाउँदैनन् ।

बैठकमा नेताहरुले सभामुख पद पूर्वएमालेका लागि छाडिएको बारे जिज्ञासा राखेका थिए । प्रचण्डले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलको रुपमा मात्रै रहेको प्रतिक्रिया दिएका थिए ।

अर्को एक स्रोतका अनुसार प्रचण्डले कार्यकारी अध्यक्ष पाएबापत सभामुख पदको बलि चढाएका छन् । उक्त बलि नेम्वाङको नाममा दिइएको बुझिएको छ ।

त्यसो त अझै पनि नेकपाको पूर्व माओवादीभित्रै को सभामुख बन्ने भन्ने तय भएको थिएन । देव गुरुङ, अग्नी सापकोटा, पम्फा भुषाल गनिएका नाम हुन् । त्यसमा पनि अग्नी अगाडि छन् । उनी प्रचण्डका प्रिय हुन् ।



मङ्गलबार ०१, पुष २०७६ १२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal