विद्यार्थीद्वारा सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति अस्वीकार,शिक्षामन्त्रीको राजीनामा माग

Yugnepal     867 पटक पढिएको    

विद्यार्थीद्वारा सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति अस्वीकार,शिक्षामन्त्रीको राजीनामा माग

काठमाडौ,१२ मंसिरः आन्दोलनरत चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुले मंगलबार राती सरकार र मेडिकल सञ्चालकहरुबीच भएको सहमति अस्वीकार गरेका छन् । विद्यार्थीहरुले आन्दोलनरत विद्यार्थीका प्रतिनिधि सहभागी नगराई सरकारले मेडिकल कलेज सञ्चालकहरूसँग गरेको निर्णयले चिकित्सा शिक्षामा थप समस्या उत्पन्न गराएको जिकिर गर्दै सहमति अस्वीकार गरेका हुन् । कलेजहरूले बढी उठाएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीले शिक्षामन्त्री र कलेज सञ्चालकबीच भएको निर्णय स्वीकार्य नभएको बताएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिले शैक्षिक सत्र ०७४–७५ अघि भर्ना भएका विद्यार्थीबाट उठाएको बढी शुल्क फिर्ता नगर्ने गरी छलछामपूर्ण निर्णय भएको आरोप लगाएको छ । सरकार र कलेज सञ्चालकले ०७२–७३ र ०७३–७४ मा भर्ना भएका विद्यार्थीको हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष अनुरोध गर्ने निर्णय गरेका थिए ।
सरकारसंग भएको सहमतिले मेडिकल कलेज सञ्चालकहरुलाई आलटाल गर्ने बहाना बनेको विद्यार्थीहरुको ठहर छ । ०७२–७३ देखि ठगिएका सबै विद्यार्थीको शुल्क फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग छ । आन्दोलनरत विद्यार्थीले विद्यार्थीका प्रतिनिधि नराखी निजी कलेजका सञ्चालकसँग बसेर उनीहरूलाई फाइदा पुग्ने गरी शिक्षा मन्त्रालयले गरेको निर्णयबाट आफुहरु अन्यायमा परेको बताएका छन् । उनीहरुले तेस्रो र चौथो ब्याचका विद्यार्थीसँग उठाएको बढी शुल्क फिर्ता गर्ने विषय निर्णयमा समावेश नै नभएको जिकिर गरेका छन् ।
त्यस्तै, प्यारामेडिसिन, नर्सिङलगायत कार्यक्रममा लिएको बढी शुल्क फिर्ताको सम्बन्धमा कुनै निर्णय नगरेकोप्रति पनि विद्यार्थीको आपत्ति छ । यसैबीच, विद्यार्थीको हितविपरीत निजी मेडिकल कलेजका सञ्चालकसँग मिलेर निर्णय गरेको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका छन् । बढी उठाएको शुल्क फिर्ताको माग गर्दै कलेजविरुद्ध तीन महिनादेखि आन्दोलित सिएमसीका विद्यार्थीले बुधबार शिक्षामन्त्रीविरुद्ध नारा लगाउँदै राजीनामा मागेका हुन् । हेल्थ टुडे, बाट साभार

 



आइतबार १५, मङि्सर २०७६ ०३:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.