छाडा पशु चौपायाका कारण करेसाबारी जोगाउनै समस्या

Yugnepal     908 पटक पढिएको    

छाडा पशु चौपायाका कारण करेसाबारी जोगाउनै समस्या


धनगढी  स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै ३ बर्ष पुगेपनि छाडा पशु चौपायाको समस्या समाधान हुन सकेको छैन। स्थानीय तहको निर्वाचन सम्पन्‍न लगत्तै कैलालीका सवै स्थानीय तहका जनप्रतिनिधीले छाडा पशु चौपाया नियन्त्रण गर्ने उद्घोष गरेका थिए।

निर्वाचन भएको १ बर्ष सम्म जनप्रतिनिधि छाडा पशु चौपाया समस्या समाधानका लागि सकृय देखिए पनि अहिले भने निस्कृय जस्तै बनेका छन् । पछिल्लो सयम जनप्रतिनिधी छाडा पशु चौपाया समस्या समाधान गर्नुभन्दा एक अर्कामा आरोप प्रत्यारोप लगाईरहेका छन्।

गोदावरी नगरपालिकाले धनगढी तथा गौरीगंगाबाट आफ्नो क्षेत्रमा छाडा पशु चौपाया आउन थालेपछि समस्या बढेको बताएको छ भने धनगढी उपमहानगरले गोदावरी लगायत अन्य स्थानीय तहबाट आउने छाडा पशु चौपायाले समस्या बढाएको बताउने गरेको छ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा चुरे र मोहन्याल वाहेक ११ वटा स्थानीय तहमा छाडा चौपायाका कारण स्थानीयहरु निकै समस्यामा परेका छन्।
आफूहरुले १ बर्ष अघि देखि नै छाडा पशु चौपाया नियन्त्रण गर्ने प्रयास गरेको भएपनि अन्य स्थानीय तहबाट गोदावारीमा भित्रिने चौपायाका कारण नियन्त्रण गर्न नसकिएको गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताइन्।

उनले नगरका विभिन्न स्थानमा गौशाला निर्माण गरी संरक्षण गरिएको भएपनि बाहिरबाट आउने छाडा पशु चौपायाका कारण समस्या भईरहेको बताइन्।धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले पनि गोदावरी जस्तै अन्य क्षेत्रबाट आउने छाडा पशु चौपायाका कारण बजारमा चौपायाको संख्या बढेको बताए।

केही गाई बझाङ पठाएका र केही गाईको धनगढीस्थित जालीमा निर्माण गरिएको गौशालामा संरक्षण गरिएको भएपनि बजारमा गाईको संख्या झनै बढ्नुले धनगढीमा अन्यत्रबाट गाई आउने गरेको पुष्टि भएको मेयर वडले बताए।

उनले आफुले नगरलाई छाडा पशु चौपाया मुक्त क्षेत्र घोषणा गर्ने योजना अनुसार काम गर्दा अन्यत्रबाट धनगढी आउने गाईका कारण समस्या भएको बताए । अझै पनि छाडा पशु चौपाया नियन्त्रणको प्रयास भइरहेको उनको भनाइ छ।

छाडा पशु चौपायाले वाली तथा बारीमा रहेको तरकारी फलफुल नोक्सान गरिरहेका छन्। धनगढीका विभिन्न स्थानमा छाडा पशु् चौपायाले वाली तथा घरमा लगाईएको करेसा वारी नष्ट पार्न थालेपछि किसान रातभर जाग्राम बस्नु पर्ने बाध्यता देखिएको छ।

धनगढी उप(महानगरपालिका वडा नम्बर(५ का स्थानीय रामप्रसाद जोशीले छाडा चौपायाका कारण करेसाबारी लगाउनै बन्द गर्नु पर्ने अबस्था रहेको बताए । ‘एक दुई दिन बिरायर आउने छाडा चौपायाले बारीमा लगायको तरकारी, बोट बिरुवा केही बाँकी छैन’ उनले भने–‘अब त बारी बाँझै राख्नु पर्ने अबस्था आईसक्यो।’

स्थानीय तहको निर्वाचन नहुँदै छाडा पशु चौपाया व्यवस्थापन गर्ने मुद्दा बनाएर प्रचार प्रसार गर्दै चुनावमा होमिएका जनप्रतिनिधीले चुनाव सम्पन्न भएको ३ वर्ष सम्म पनि सो समस्या समाधान नगरेको उनको आरोप छ।

धनगढी वडा नम्बर–३ का स्थानीय दिल बहादुर बिष्टले पनि पशु चौपायका कारण स्थानीय रात भर जाग्राम बस्न बाध्य भएका बताए। स्थानीय तहले पशु चौपाया व्यवस्थापन गर्न थालेको भन्ने सुनेपनि समस्या भने ज्यूका त्यू रहेको बिष्टले बताए।

‘धान रोपेको वेला धान खाएर केही बाँकी राखेनन्’ उनले भने(‘अहिले करेसाबारीदेखि खेतमा लगायको मसुरो खाएर सकिसके, अब गहु पनि कसरी जोगाउने होला चिन्ता लागेको छ।’

छाडा पशु चौपाया समस्या समाधान गर्न आफूहरुले पटक–पटक धनगढी उप(महानगरपालिकाका मेयरलाई समेत जानकारी गराए पनि समस्या समाधान गर्दैछौ भन्ने प्रतिबद्धता मात्रै आउने गरेको स्थानीय बताउँछन्।

वाली नाली संगै छाडा चौपायाका कारण दुर्घटनाको जोखिम पनि बढेको छ।हाइवे तथा बजारका मुख्य सडकमा हुलका हुल छाडा चौपाया बस्ने र हिडने गरेका कारण दुर्घटना निम्तिने गरेको सवारी चालहकहरुको भनाइ छ।

 



सोमबार ०९, मङि्सर २०७६ ०६:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.