कांग्रेस बैठक बस्दै, नेविसंघ कार्यसमिति गठन र तरुण दलको विवाद मिलाउने

Yugnepal     1021 पटक पढिएको    

कांग्रेस बैठक बस्दै, नेविसंघ कार्यसमिति गठन र तरुण दलको विवाद मिलाउने

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ ।  

यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीले यसअघि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समिति गठन गरेको थियो ।

त्यस्तै कांग्रेसले गत भदौ २४ गतेदेखि प्रारम्भ गरेको जागरण अभियान यही असोज ७ गते समापन हुँदैछ । यही बीचमा पार्टीले नेपाल विद्यार्थी सङ्घ ९नेविसंघ० को तदर्थ केन्द्रीय कार्यसमिति गठन गर्ने र नेपाल तरुण दलमा देखिएको विवाद समाधान गर्ने जनाएको छ ।

कांग्रेसले गत भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानको मापदण्ड तयार गरेर सैद्धान्तिक विषयमा एकरूपता गर्ने सम्बन्धमा आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गरेको थियो ।

पार्टीका केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वको सो समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य छन् ।



सोमबार ०६, असोज २०७६ ११:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal