दशैं आयो पत्रकारलाई तलब देऊ

Yugnepal     694 पटक पढिएको    

दशैं आयो पत्रकारलाई तलब देऊ

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।     
     
काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । 
     
बैठकले श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णयसमेत गरेको छ । बैठकले अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरेको छ ।     
     
महासचिव विष्टका अनुसार दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सिर्जना गर्नेछ । बैठकले समाचार सङ्कलनार्थ पत्रकारहरु सिंहदरबार प्रवेश गर्दा थप कडाइ गर्दै झन्झटिलो व्यवस्था गरिएकाले सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।     
     
यसैगरी बैठकले रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनर्बहाली गर्नसमेत माग गरेको छ । 



बिहिबार ०२, असोज २०७६ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.