सिंहदरवारमा प्रधानमन्त्रीको कार्यक्रम चलिरहँदा रेडियो नेपालमा टाँसियो कालो व्यानर

Yugnepal     880 पटक पढिएको    

सिंहदरवारमा प्रधानमन्त्रीको कार्यक्रम चलिरहँदा रेडियो नेपालमा टाँसियो कालो व्यानर

काठमाडौं। क्रस बोर्डर पेट्रोलियम पाइपलाईनको प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारबाट भारतीय प्रधानमन्त्रीसँग रिमोटबाट उदघाटन गरिरहँदा सिंहदरबार भित्रै केपी ओली सरकारबाट पिडित पत्रकारले रेडियो नेपालमा कालो व्यानर टाँसेका छ्न्। नेपाल पत्रकार महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरेका तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्रै रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गरेको हो। 

महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरुले मंगलबार सिंहदरबारभित्र प्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएको हो। धर्ना पछि रेडियो नेपालबाट निस्कासन गरिएका पत्रकारको पुनर्बहाली, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग लेखिएका काला ब्यानरहरु टाँग्दै पत्रकारहरुले नाराबाजी गरेका थिए।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ सचिव दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाललगायतले माग सम्बोधन गर्न रेडियो नेपालसँग माग गरे। 

उनीहरुले रेडियो नेपालले निस्कासन गरेका डोटीका तीनै जना पत्रकारको पुनर्बहाली गरेर श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे सरकारविरुद्ध अझै आन्दोलन चर्काउने चेतावनी दिए ।   

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए । 

महासंघले उनीहरुको सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरी भदौ २३ गतेसम्म महासंघलाई जानकारी नदिए भदौ २४ गतेदेखि रेडियो व्यवस्थापनविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको थियो।



मङ्गलबार २४, भदौ २०७६ ०२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal