भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानलाई एकरुपता बनाउँदै कांग्रेस

Yugnepal     715 पटक पढिएको    

भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानलाई एकरुपता बनाउँदै कांग्रेस

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको सांगठनिक संरचनालगायत मुलभूत सैद्धान्तिक एकरुपता कायम गरी विधान तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।     
     
 काङ्ग्रेसको ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’को आइतबार बसेको बैठकले सो सम्बन्धमा आवश्यक सुझाव लिनेलगायत निर्णय गरेको सो पार्टीले जनाएको छ । 

समितिका संयोजक एनपी साउदको संयोजकत्वमा बसेको बैठकले भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउँ भनी माग गरिएका विषयमा समेत काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसँग भदौ २५ गते छलफल गर्ने भएको छ ।

उक्त विषयमा भ्रातृ सङ्घका सभापति, निवर्तमान सभापति र विधान मस्यौदा समितिका संयोजकसँग समेत समितिले छलफल गर्ने पार्टी कार्यालयलका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।     
     
 यस्तै भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाउँ भनी माग गरिएका विषयमा माग भई आएका भ्रातृ एवम शुभेच्छुक संस्थाका प्रस्तावित सभापति र विधान मस्यौदा समितिका संयोजकसँग भदौ २९ गते छलफल गर्ने बैठकले निर्णय गरेको छ । 

भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाका सम्बन्धमा आवश्यक गृहकार्यका लागि पार्टीका केन्द्रीय सदस्य साउदको संयोजकत्वमा केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदिप पौडेल सदस्य रहेको समिति गठन गरेको थियो । 

समितिलाई सबै भ्रातृ र शुभेच्छुक संस्थाका विधानको मापदण्ड तयार गरी सैद्धान्तिक विषयमा एकरुपता कायम हुने गरी दुई हप्ताभित्र प्रतिवेदन तयार गर्न कार्यदेश दिइएको छ ।

साथै नयाँ भ्रातृ र शुभेच्छुक संस्थाको रुपमा मान्यता पाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा आएका निवेदनमाथि छानविन गरी राय पेश गर्ने समितिलाई अर्को जिम्मेवारी प्रदान गरिएको छ ।    



सोमबार २३, भदौ २०७६ १२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal