भ्रातृ संस्थाको अधिवेशनबारे विशेष निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक

Yugnepal     661 पटक पढिएको    

भ्रातृ संस्थाको अधिवेशनबारे विशेष निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । दिउँसो २ बजे पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने बैठकमा तीन मुख्य एजेन्डामा आधारित रहेर छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

पौडेलका अनुसार पहिलो विषयका रुपमा समसामयिक नै रहेको छ । विशेष गरी सरकारले भिडियो कन्फ्रेन्स गरी मन्त्रिपरिषदको बैठक संचालन गर्दा पर्ने असरबारे संसदबाट काँग्रेसले सरकारको आलोचना गरिरहँदा सुरक्षाका दृष्टिका साथै पद्धतिका बारेमा केपी शर्मा ओली नेतृत्वको सरकारले मनलाग्दी गरेको भन्दै यसलाई पार्टीको मुद्दा बनाउने बुझिएको छ । 

मुख्यसचिव पौडेलले दोस्रो एजेन्डाका रुपमा स्थानीय तहका जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिने कार्यक्रम रहेको बताएका छन् । उनका अनुसार पार्टीको संगठन र जनप्रतिनिधिबीच आपसी तालमेल मिलाउनका लागि विशेष निर्देशन दिने कार्यक्रम रहेको उनले बताए । 

तेस्रो तथा महत्वपूर्ण एजेन्डाका रुपमा भ्रातृ संस्थाहरुबारेको छलफल रहेको पौडेलले बताए । उनले काँग्रेसका अधिकांश भ्रातृ संस्थाहरुको समयावधि सकिएकाले त्यसबारे विशेष निर्णय हुन सक्ने बताएका छन् । 

उनले अधिवेशन तयारी कमिटी बन्न सक्ने बताए । उनले भने, ‘आज नेताहरुले विशेष निर्णय गर्नुहुनेछ । आजै एउटा चुनावी अधिवेशन तयारी कमिटी बन्न सक्नेछ ।’

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा पेश गरेको एजेण्डाअनुसार नै भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । 

नेपाल प्रेस युनियन लगायतका सुभेच्छुक संस्थाहरुको समेत निर्वाचन हुन सकेको छैन । प्रेस युनियनको निर्वाचन मंसिर २८ र २९ गते गर्ने मिति तोकिएको छ । 

समसामयिकका रुपमा १४ औं महाधिवशेनको तयारी र भदौ २४ देखि सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारी लगायतका विषयमा छलफल हुनेछ । 



बुधबार ११, भदौ २०७६ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal