दुबै हात कालोपट्टीले बाँधेर विरोध, पुनर्वहालीको माग गर्दै फेरि संघर्षका कार्यक्रम सार्वजनिक

Yugnepal     1005 पटक पढिएको    

दुबै हात कालोपट्टीले बाँधेर विरोध, पुनर्वहालीको माग गर्दै फेरि संघर्षका कार्यक्रम सार्वजनिक

डोटी । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकर्मीलाई बिना कारण सेवाबाट हटाएको विरोधमा शनिवार पनि धर्ना कार्यक्रम जारी रहेको छ । 

नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाइमा पुनवहालीको माग गर्दै रेडियो प्रदेश प्रशारण केन्द्र अगाडि धर्ना गरिएको हो । तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नुपर्ने माग गर्दै बिहीबारबाट आन्दोलन शुरु भएको हो । 

शनिबार दुबै हात कालो पट्टीले बाँधेर विरोध गरिएको छ । त्यस्तै बिहीबार मुखमा कालोपट्टी बाँधेर र शुक्रबार टाउकोमा कालोपट्टी बाँधेर पहिलो चरणको विरोध कार्यक्रम  गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।

प्रदेश प्रशारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो । यसको विरोधमा महासंघले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ । 

तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो । भदौ एक गतेदेखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ति दिइएको छ । रास्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यसबारे कुरा उठेको छ । 

रास्ट्रिय सभाका सदस्य तारादेवी भट्ट, प्रतिनिधि सभाका सदस्य डिला संग्रौला पन्त र अतहर कमल मुसलमानले पुनर्वहालीको माग गरेका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटी, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन जिल्ला समिति लगायतका संघ संगठनले पनि कर्मचारी हटाएकोमा विरोध जनाएका छन् ।

त्यसैगरी शनिबार नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा बसेका बैठकले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ ।

बैठकले भदौ ८ गते आइतबार रेडियोको गेटमा संचार सामग्रि प्रदर्शन गर्ने, ९ गते संचारकर्मी निस्कासन गरेको विषयमा धर्ना स्थलबाट बहस तथा विभिन्न संचार माध्यमवाट प्रत्यक्ष प्रसारण गर्ने र १० गते धर्ना स्थलबाट रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई पुनर्वहालीका लागि दवावस्वरुप एसएमएस गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव गणेश मौनिले बताए । 

यसै क्रममा विभिन्न सुभेच्छुक संगठनले ऐक्यवद्धता तथा पुनर्वहालीको माग गर्दै विज्ञप्ति निकाल्ने क्रम जारी रहेको छ ।  

यसैगरी नेपाल प्रेस युनियन सुदूरपश्चिमका सम्पूर्ण शाखाले आइतबार जिल्ला प्रशासन मार्फत नेपाल सरकार र संचार तथा सुचना प्रविधि मन्त्रीलाई  पुनर्वहालीको माग गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाल प्रेस युनियन सुदूरपश्चिम संयोजक लालबहादुर ऐरीले जानकारी दिए ।



आइतबार ०८, भदौ २०७६ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal