नरहरि आचार्यद्धारा जागरण अभियानः आफ्नै घरमा यसरी चलाउँछन् बहस

Yugnepal     636 पटक पढिएको    

नरहरि आचार्यद्धारा जागरण अभियानः आफ्नै घरमा यसरी चलाउँछन् बहस

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानलाई सघाउने उद्धेश्यका साथ केन्द्रीय सदस्य नरहरि आचार्यले आफ्नै घरमा कार्यक्रम संचालन गरेका छन् । 

शनिबार (भदौ ७ गते) आफ्नो कार्यक्रम सुरु गरेको ४ महिना पूरा भएर ५ महिनाको पहिलो शनिवार आफ्नो १५औं कार्यक्रम मूल्याङ्कन गर्ने विषय उनले बाहिर ल्याएका हुन् । 

नेता आचार्यले २०७६ बैशाख ७ गते शनिवारदेखि आफनै निवासको लाइब्रेरीमा ७ देखि ९ जना उपस्थित भएर विभिन्न विषयमा बहस चलाउँदै आएका हुन् । 

‘संविधान बनाउन नेतृत्व गरेको र लोकतान्त्रिक पार्टीले चुनाव हार्दैमा हारको मनस्थिति बनाउनु हुँदैैन उचो मनोवलका साथ आफैबाट जागरण थाल्नु पर्छ,’ आचार्यले भने । 

के कार्यक्रम हो यो ?
आफ्नो कार्यक्रमबारे स्पष्ट पार्दै आचार्यले भने, ‘नेपाली कांंग्रेस पार्टीले राष्ट्रिय जागरण अभियान कार्यक्रमको थालनी गर्यो । मेरो स्वास्थ्यको कारणले गर्दा म धेरै बाहिर गएर बस्न सक्ने अवस्था छैन । पार्टीले पनि मलाई गर्नैपर्छ भनेको छैन । तर पनि मेरो जिम्मेवारी हुन्छ, म पनि केन्द्रीय सदस्य छु, पार्टीको बैठकमा जान्छु । त्यसैले मैले सक्ने काम गर्नु पर्छ भनेर आफ्नै घरमा, आफ्नै लाइब्रेरीमा पार्टीका सिमित साथीहरुका बीचमा आफै जागृत हुन यो कार्यक्रम संचालन गरेको हुँ ।’

उनले अगाडि थपे, ‘हामी यहाँ विविध विषयहरुमा छलफल गर्छौं । संविधान हामीले नै बनायौं । त्यसैले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सुशासन र समसामयिक उठिरहेका विविध विषयहरु हाम्रो विषय  बन्दै आएका छन् । छुट्टाछुट्टै विषयमा छलफल गर्दै हामी १५ कार्यक्रममा आइपुगेका छौं ।’
 
नेता आचार्यले थपे, ‘मानिसहरु टुङ्गिसकेका कतिपय विषयमा पनि छलफल गर्न रुचाउँछन् । कतिपय विषय हामीले विकसित गर्दै लैजानु पर्ने पनि छ । गणतन्त्र कांग्रेसको एजेण्डा हो । माओवादी लगायतका कम्युनिष्टहरुको जनगणतन्त्र हो । यो कुरा नबुझ्दा कतिपय हाम्रै साथीहरु पनि यि विषय हाम्रो होइन भन्छन् । त्यसैैगरी संंघीयता लोकतन्त्रवादीकै एजेण्डा होे ।’

उनले अगाडि स्पष्ट पार्दै भने, ‘मैले यो विषय केही समय अघिदेखि नै भन्दै आएको विषय थियो । हामी संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थामा असफल भइसकेपछि यो विषय अघि बढ्यो । अहिले संविधानको महत्वपूर्ण अङ्ग हो यो । त्यसैगरी धर्मनिरपेक्षता पनि खासगरी तत्कालिन माओवादी, एमाले लगायतका साना कम्युनिष्टहरु एक भएर आइसकेपछि रह्यो । हामी हिन्दुराज्यको पक्षमा कहिल्यै होइनौं ।’

आचार्यले बोले, ‘मैले चुनाव लड्दा पनि भनेको थिएँ कमल थापा भन्दा म नै बढी हिन्दु धर्म मान्ने मान्छे हो । तर हामी हिन्दु राज्यको संविधान बनाउँदैनौं । धर्मका बारेमा केही नलेखौं भन्ने नै हाम्रो थियो । हाम्रो नीति धार्मिक स्वतन्त्रता नै हो ।’

कांग्रेस नेता तथा कार्यकर्तालाई आश्वासन दिँदै नेता आचार्यले भने, ‘कांग्रेस पार्टीको अवस्थाका बारेमा साथीहरु चिन्ता गर्नुहुन्छ म भन्छु संविधान बनाएको पार्टी एकपटक चुनाव हार्दैमा लौ सकियो भनेर आत्तिनु पर्ने अवस्था होइन । हामीले २०६४ सालमा पाएको सीट र अहिले २०७५ पाएको सीट बराबर जस्तै हो । समग्र कांग्रेसको मनस्थितिनै हारको भयो भन्ने साथीहरुको चिन्ता छ । चिन्ता होइन, यो समय साथीहरु सबै मिलेर काम गर्र्ने अवस्था हो ।’

शनिबारको कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका पुराना नेता वीरेन्द्रभक्त श्रेष्ठ, महासमिति सदस्य दामोदर खड्का, वीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेल, जिल्ला सदस्य रामचन्द्र घिमिरे, टोखा र बुढानीलकण्ठ नगरपालिका कांग्रेस उपमेयरका उम्मेदवार रजनी थापा, सुभद्रा खड्का, दैलेख कांग्रेसका नेता एकेन्द्र पन्त, प्राध्यापक सुशील वाग्ले लगायतले आफ्नो धारणा राखेका थिए ।



आइतबार ०८, भदौ २०७६ १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.