यसरी सकियो नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक

Yugnepal     715 पटक पढिएको    

यसरी सकियो नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक द्विपक्षीय साझेदारी र सहकार्यका विविधि कार्यविवरण अर्थात् ‘मिनेट्स्’मा हस्ताक्षर गर्दै बुधबार राति सम्पन्न भएको छ ।     
     
बैठकका सहअध्यक्षद्वय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र उनका भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करले बैठकका क्रममा भएका द्विपक्षीय सहमतिका लिखित व्यहोरामा हस्ताक्षर गरेर संयुक्त आयोगको पाँचौँ भेटवार्ता सम्पन्न भएको हो ।     
     
मिनेट्स्मा हस्ताक्षर गरेपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले नेपालको निकटको असल छिमेकी भारतले नेपालप्रति दर्शाएको सद्भावको सराहना गर्दै आयोगको बैठक फलदायी बनेको बताए । 
     
भारतसँग निकट सम्पर्कमा रहेर सहकार्य र साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउँदै उनले दुवै देशका जनताको बृहत्तर हितमा काम गर्नु आफूहरूको कर्तव्य भएको भन्न छुटाएनन् । आयोगका बैठकलाई नियमित गर्न पनि उनले जोड दिए ।
     
विदेशमन्त्री जयशङ्करले बैठकपछि हस्ताक्षर भएका कार्यविवरणले भारत–नेपाल सम्बन्धको मार्गचित्र तयार पारेको बताउँदै त्यसबाट नै पारस्परिक सम्बन्ध उन्नत एवं अग्रगामी हुने विचार व्यक्त गरे ।
     
बुधबारै मन्त्री ज्ञवालीले १३ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय भ्रमणमा आएका मन्त्री जयशङ्करको सम्मानमा रात्रिभोजको आयोजना गरे । 
     
त्यस अवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि पूर्वनेपाली राजदूतहरू र नेपाल र भारत सरकारका उच्च अधिकारी सहभागीको उपस्थिति थियो । 



बिहिबार ०५, भदौ २०७६ ११:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.