साउनको सोमबार परेका कारण बकर इदमा पनि मुस्लिमले गरेनन् कुर्वानी

Yugnepal     729 पटक पढिएको    

साउनको सोमबार परेका कारण बकर इदमा पनि मुस्लिमले गरेनन् कुर्वानी

मुजफ्फपुर । बिहारको मुजफ्फपुर जिल्लामा पर्ने बाबा गरीबनाथ मन्दिरको आसपास रहने करीब ५ दर्जन मुसलमान परिवारहरुले यसपाली बकर ईदको पहिलो दिनमा कुर्वानी गरेनन् । सोमबार मुसलमानहरुको महान पर्व बकर ईद विश्वभर मनाईँदै छ । यस पर्वको पहिलो दिन मुसलमानहरुले बाख्राको कुर्वानी गरेर मनाउने गर्दछन् । तर, साउनको अन्तिम सोमबार हिन्दूहरुको विशेष पर्वलाई सम्मान गर्दै मुजफ्फपुरका ५ दर्जन बढी परिवारहरुले कुर्वानी नगरेका हुन् । 

भारतबाट प्रकाशित हुने दैनिक भास्करमा छापिएको समाचार अनुसार साउनको अन्तिम सोमबारको दिन सुरु भएको बकरीदको पहिलो दिन यी मुस्लिम परिवारहरुले कुर्बानी नदिन लागेका हुन् । उनीहरुले दुई दिन अघि शनिवार मन्दिरको नजिक रहेको छाता बजार मस्जिदमा इमाम मौलाना शहीदुज्जमाको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गराएका हुन् ।

बाबा गरीबनाथ मन्दिरमा साउनको अन्तिम सोमवार जलाभिषेकको लागि दुईलाखको हाराहारीमा शिव भक्तहरु उपस्थित हुन्छन् । यहाँ अन्तिम सोमबार ठूलो मेला पनि लाग्ने गर्दछ। यसैलाई केन्द्रीत गर्दै मुस्लिम परिवारहरुले यस्तो निर्णय गराएका हुन् । छाता बजार मस्जिद कमिटीका सचिव मो। आजादले कुर्बानीका कारण त्यस मन्दिरका शिवभक्तहरुलाई असहज हुनेदेखेर कुर्वानी नगर्ने निर्णय गरिएको जानकारी दिए । पछिल्ला दिनहरुमा भने कुर्वानी गरिने उनले स्पष्ट पारे । 

छाता बजार मस्जिदमा आयोजित बैठकमा वार्ड पार्षद केपी पप्पू, सचिव मो। आजाद, सदस्य मो। इरशाद उर्फ सादू, दिलशाद अहमद, इम्तेयाज अहमद, शहनवाज अहमद, मो। चांद, जहीर अनवर उर्फ राजा, मो। आदिलका अलावा मन्दिर पक्षका समेत मानिसहरु सहभागी थिए । 

पछिल्लो वर्ष पुरानो बजार तथा छाता बजारमा केहीले घुसपेठ गरेर यहाँको माहोल बिगार्ने प्रयास गरेका थिए । बकरीदका दिन जनावरको हड्डीहरु नालामा फ्याकिएको थियो । मोहल्लेको सानो मन्दिरको नजिकै सडकमा समेत केही अवशेष तथा हड्डिहरु देखिएको थियो । त्यतिबेला स्थानीयहरुले सुझबुझका साथ त्यहाँको स्थितिलाई नियन्त्रणमा लिएका थिए । त्यो स्थिति आउन नदिनको लागि साउनको अन्तिम सोमबार कुर्वानी नै नगर्ने निर्णय गरेका हुन् ।  



सोमबार २७, साउन २०७६ ०१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal