नेकपा कार्यविभाजन  कुन कुन शक्तिशाली विभागमा कसको पल्लाभारी

Yugnepal     680 पटक पढिएको    

नेकपा कार्यविभाजन  कुन कुन शक्तिशाली विभागमा कसको पल्लाभारी

 

  
काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी नेकपा  तीन वटा प्रमुख विभागहरूमा शीर्ष नेताले आँखा गाढेका छन् । सङ्गठन विभाग, पार्टी स्कुल विभाग र आर्थिक विभागमा सचिवालय सदस्यबीच नै हानाथाप चलेको हो।

पार्टीका विभागमध्ये सबैभन्दा प्रभावशाली मानिन्छ– संगठन विभाग । कम्युनिष्ट पार्टीको सिङ्गो संगठनको नेतृत्व यसले गर्छ । पार्टी सदस्यता वितरण, सङ्गठन परिचालन र सदस्यको हिसाबकिताब समेत यही विभागले गर्छ।

नेकपाको संगठन विभाग प्रमुखमा वामदेव गौतमको पल्डा भारी देखिएको छ । ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ ले पनि उक्त पदमा दाबी गरेका छन् । पार्टी एकतामा अन्यायपूर्वक महासचिवबाट हटाइएका र सरकारमा समेत रक्षामन्त्री बनाएर थन्क्याइएका पोखरेलले महत्वपूर्ण विभाग दाबी गरेको स्रोतको दाबी छ।

नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘पूर्वप्रधानमन्त्रीत्रय अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तीनै जना वामदेवबारे सकारात्मक हुनुहुन्छ । अध्यक्ष केपी शर्मा ओलीले बादलजीको नाम अघि सारेर खेल्न खोज्नुभएको हो । उहाँको पर्फर्मेन्स हेर्दा त सचिवालय सदस्य नै बढी हो । ईश्वर कमरेडले त यो बीचमा च्याँखे थाप्नुभएको मात्र हो, कतै परिहाल्छ कि भनेर।’

२०५० साल जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएपछि संगठन विभाग प्रमुखको जिम्मेवारी गौतमले सम्हालेका थिए । त्यसको दुई वर्षभित्रै गौतम तत्कालीन एमालेका अत्यन्त शक्तिशाली नेताका रूपमा उदायका थिए।

गौतमले रुचि देखाउनु र उनलाई सचिवालय सदस्य रहेका तीन पूर्वप्रधानमन्त्रीले साथ दिएपछि उनलाई रोक्नसक्ने ताकत पोखरेल र वादलसँग नहुने ती नेताले दाबी गरे । गौतमलाई महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत समर्थन हुने हुनाले अरु दुई नेताको दाबी नपुग्ने उनको मत छ।
गौतम सांसद् छैनन् । उनीसँग राजकीय जिम्मेवारी पनि छैन । पोखरेल र बादल दुबै जना मन्त्री रहेकाले पनि गौतम नै संंगठन विभागको प्रमुख हुने उनको विश्लेषण छ।

कम्युनिष्ट पार्टीभित्र अर्को महत्वपूर्ण विभागका रूपमा पार्टी स्कुल विभागलाई लिइन्छ । विशेष गरी कम्युनिष्ट पार्टीको सिद्धान्त पढाउने स्कुल सञ्चालन गर्ने काम यो विभागको हो । एमालेको नवौं महाधिवेशनपछि यो विभागमा तत्कालीन उपमहासचिव एवम् माक्र्सवादी चिन्तक घनश्याम भुसालले रुचि देखाएका थिए। महाधिवेशनले समेत भुसालको विचार पारित गरी आधिकारिक कार्यनीति भए पनि अध्यक्ष केपी शर्मा ओलीले आफ्नै टीमको निर्वाचित उपमहासचिव भुसाललाई त्यो जिम्मेवारी दिएनन्।

यतिसम्म कि, अध्यक्ष केपी शर्मा ओलीले सो विभागको प्रमुख आफैंसँग राखे । अनि उपमहासचिवमा महाधिवेशनमा पराजित शङ्कर पोखरेललाई त्यसको उपनेता तोके र जिम्मेवारी दिए। अहिले सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले यसमा रुचि देखाएको नेकपा स्रोतको दाबी छ। सङ्गठन विभाग साविक एमालेको भागमा पर्‍यो भने यो स्वतः साविक माओवादीको भागमा पर्ने संभावना प्रवल छ।

नेपाल ‘अर्द्ध सामन्ती, अद्र्ध औपनिवेशिक’ युगमा नरही अब पूँजीवादमा प्रवेश गरेको नेकपाको निष्कर्ष छ । त्यसैले सो पार्टीको आर्थिक विभाग प्रमुखलाई पार्टीभित्र ‘कुवेर’ का रूपमा हेर्ने गरिन्छ । महङ्गो हुँदै गएको आम चुनाव र खर्चिलो बन्दै गएको पार्टी सञ्चालनका कारण पनि यसको आकर्षण बढेको हो । संसद्मा करिब दुईतिहाइ हाराहारीमा बहुमत प्राप्त नेकपाले सरकारको नेतृत्व गरिरहेको अवस्थामा यसको आकर्षण अझ बढेको हो।

प्रति सांसद् प्रति महिना १२ हजार त लेबी मात्र उठाउने नेकपा अहिले नेपालको सबैभन्दा बढी आम्दानी हुने पार्टी हो । योसँग पाँच वर्ष अकन्टक राज्यसत्ता चलाउने शक्ति छ । यसमा महासचिव विष्णु पौडेल लगभग पक्का छ । अरु दुईमध्ये कुनै पनि विभाग नपाएमा यसमा भए पनि ईश्वर पोखरेलले दाबी गरेको ती नेताले बताए।

त्यसबाहेक अर्को आकर्षक विभागमा प्रचार तथा प्रकाशन विभाग हो । यो पद साविक एमाले सचिव योगेश भट्टराईको जिम्मामा जाने संभावना प्रवल छ । भट्टराई पार्टी एकीकरणअघि पनि एमाले प्रचार विभाग प्रमुख थिए । भट्टराईलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले मन्त्रीका लागि प्रस्ताव गरेकाले उक्त पद नदिने हुन् कि भन्ने आशंका पनि छ।

नेकपाको दोस्रो पुस्ताका यी ‘सेलिब्रिटी’ नेता बनेका छन् योगेश भट्टराई । त्यसैले प्रधानमन्त्री ओलीको ‘किचन क्याबिनेट’ भने उनलाई महत्वपूर्ण जिम्मेवारी दिन नहुने भन्दै बाधा हाल्ने प्रयास गरिरहेको पनि स्रोतको दाबी छ।

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले विष्णु पौडेल र बादललाई समेत डाकेर हिजो पार्टी एकताको खाकामा लगभग टुङ्गो लगाइएको बताइए पनि त्यसले अन्तिम रूप पाएको छैन । पूर्वएमाले र पूर्व माओवादी बीच भागवण्डाको टुंगो लागे पनि साविक पार्टीबाट नामको टुंगो लाग्न भने बाँकी छ । तीन–चार दिनभित्र नाम टुङ्ग्याएर स्थायी कमिटी बैठकबाट नाम अनुमोदन गराउने गरी गृहकार्य भइरहेको नेकपा स्रोतको दाबी छ।

नेकपाका केन्द्रीय निकायमा भने टुंगो लागिसकेको ती नेताले बताए । केन्द्रीय अनुशासन आयोगमा अमृत बोहोरा, केन्द्रीय लेखापरीक्षण आयोगमा डा। पुष्प कँडेल नै रहने छन् भने केन्द्रीय निर्वाचन आयोगको जिम्मा अमिक शेरचनले पाउने भएका छन् । केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशव बडाल हुने छन् भने केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चको नेतृत्व एनके प्रसाईंलाई दिने तय भएको स्रोतको दाबी छ।

नेकपाका जिम्मेवारी तोक्न बाँकी केन्द्रीय विभागहरू

१। अर्थ तथा योजना विभाग
२। उद्योग तथा वाणिज्य विभाग
३। उपभोक्ता हित तथा आपूर्ति विभाग
४। कृषि तथा भूमिसुधार विभाग
५। कोष तथा आर्थिक व्यवस्थापन विभाग
६। खानेपानी तथा सरसफाइ विभाग
७। जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८। निर्वाचन विभाग
९। न्याय, कानुन तथा मानवअधिकार विभाग
१०। पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग
११। प्रचार तथा प्रकाशन विभाग
१२। प्रादेशिक मामला विभाग
१३। पार्टी स्कुल विभाग
१४। पुस्तकालय तथा अभिलेख विभाग
१५। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६। युवा तथा खेलकुद विभाग
१७। राजकीय मामिला तथा सुशासन विभाग
१८। राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग
१९। वन तथा वातावरण विभाग
२०। विज्ञान तथा प्रविधि विभाग
२१। विदेश मामला विभाग
२२। शिक्षा तथा मानवस्रोत विभाग
२३। श्रम तथा रोजगार विभाग
२४। सङ्गठन विभाग
२५। सङ्घीय संसदीय विभाग
२६। समाज कल्याण विभाग
२७। सहकारी तथा गरिबी निवारण विभाग
२८। सहरी विकास विभाग
२९। सामान्य प्रशासन विभाग
३०। साहित्य, कला तथा संस्कृति विभाग
३१। स्थानीय तह विभाग
३२। स्वास्थ्य तथा जनसङ्ख्या विभाग



बुधबार ०१, साउन २०७६ ०१:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.