बाढीपहिरोले दुईको मृत्यु, एक वेपत्ता, देशभरका दर्जनौ राजमार्ग अवरुद्ध

Yugnepal     717 पटक पढिएको    

बाढीपहिरोले दुईको मृत्यु, एक वेपत्ता, देशभरका दर्जनौ राजमार्ग अवरुद्ध

 

 

  
काठमाडौं,  केही दिनयता परेको वर्षाले बाढी र पहिरो जान थालेको छ। देशभरका विभिन्न स्थानमा पहिरो गएको छ भने नदीहरूमा बाढी आएको छ।

आज बिहान काभ्रेमा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको छ। पहिरोमा च्यापिएर दुई जना घाइते भएका छन्।

आज बिहान बनेपा नगरपालिका–३ रामप्रसाद दंगालको घर पहिरोले पुरिएको हो। घर पुरिदा उनकी पत्नी गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घर भत्किँदा उनकी बुहारी सुशीला दंगाल र तीन महिनाकी नातिनी अनुस्का दंगाल घाइते भएका छन्। उनीहरुको उद्वार गरी उपचारका लागि शीर मेमोरियल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए।

यस्तै, मोरङका बाढीले बगाएर एक युवक वेपत्ता भएका छन भने महिलाको उद्धार गरिएको छ। खोलामा दाउरा खोज्दा बगेकी महिलालाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका छन्।

रंगेलीमा गेउरिया खोलाले डाईभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। डाईभर्सन बगाउदा मोटरसाइकलमा सवार एक युवक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी ३० वर्षीय युवकको पहिचान खुलेको छैन, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।

यसैगरी, हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा दुई सय मिटरसम्म सडक पहिरोले पुरिएको छ। पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ।

वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि अवरुद्ध भएको छ। गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए।

त्यस्तै, पहिरो खसेपछि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध  भएका छन्। गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ।

गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।

यसैगरी, सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको उनले बताए।



शुक्रबार २७, असार २०७६ ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal