अछामका १२ वडा कार्यालयमा ‘विप्लव’ समूहको तालाबन्दी

Yugnepal     855 पटक पढिएको    

अछामका १२ वडा कार्यालयमा ‘विप्लव’ समूहको तालाबन्दी

 

अछाम, । अछामका १२ वटा वडा कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो।

मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

कालेकाडा र बारलाको वडा कार्यालय अगाडी नै प्रहरी चौकी छ। पार्टीको घोषित नीति अन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लवका एक नेताले बताए।

यता मंगलसेन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यालयको ताला तोडेर छुट्टै ताला झुन्ड्याएको जानकारी दिए। अध्यक्षको कार्यकक्ष रहेको कोठामा तालाबन्दी गरिएको रामारोशन ३ का अध्यक्ष ताराबहादुर साउँदले पनि दिए।

बिनाकारण तालाबन्दी गरेको भन्दै अध्यक्ष साउँदले असुरक्षा बढेको बताए। ‘दलाल पुँजीवादी सरकारका विरुद्ध लगाइएको ताला खोलेमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनेछ’ भनेर धम्कीपूर्ण भाषा लेखिएको वडा अध्यक्ष साउँदले बताए।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले अहिलेसम्म पञ्चदेवल विनायक नगरपालिकाको पुल्लेतोलास्थित वडा कार्यालयमा तालाबन्दी भएको खबर प्राप्त भएको र प्रहरी पठाएर ताला खोलिएको बताए। कुन स्थानीय तहका कुन् कुन् वडा कार्यालयमा तालाबन्दी भएको हो एकिन नभएको उनले बताए।



आइतबार २२, असार २०७६ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal