नेपाली कांग्रेस कैलालीको प्रचारप्रसार विभागको संयोजकमा केशव मिश्र

युग संवाददाता     6 पटक पढिएको    

नेपाली कांग्रेस कैलालीको प्रचारप्रसार विभागको संयोजकमा केशव मिश्र

 


धनगढी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलालीले प्रचारप्रसार विभाग गठन गरेको छ । पार्टीका जिल्ला सचिव केशव मिश्रलाई उक्त विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।

शुक्रबार धनगढीमा बसेको नेपाली काँग्रेस कैलालीको जिल्ला कार्यसमिति बैठकले मिश्रको संयोजकत्वमा प्रचार–प्रसार विभाग गठन गर्ने निर्णय गरेको हो । निर्वाचनको तयारीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले विभाग गठन गरिएको पार्टीले जनाएको छ ।

प्रचार–प्रसार विभागमा नेपाल प्रेस युनियन कैलाली जिल्ला कार्यसमिति तथा लम्की शाखाका कार्य समितिका पदाधिकारीहरू सदस्यका रूपमा रहने छन् । प्रेस युनियनसँग आबद्ध सञ्चारकर्मीहरूको अनुभव र सक्रियताले पार्टीका नीति, कार्यक्रम तथा उम्मेदवारका एजेन्डा आम मतदातामाझ सहज रूपमा पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

जिल्ला बैठकमा बोल्दै पार्टीका नेताहरूले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै कांग्रेसलाई विजयी गराउन संगठन सुदृढीकरणसँगै प्रभावकारी प्रचार अपरिहार्य रहेको बताए । उनीहरूले प्रचार–प्रसार अभियान मर्यादित, तथ्यपरक र सकारात्मक हुनुपर्नेमा जोड दिए ।

प्रचारप्रसार विभागका संयोजक मिश्रले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पार्टीको ऐतिहासिक योगदान, वर्तमान राजनीतिक अवस्था र भावी योजनालाई जनतासमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्ने गरी प्रचार अभियान सञ्चालन गरिने बताए ।

‘हामी परम्परागत प्रचारसँगै डिजिटल माध्यम, सामाजिक सञ्जाल र प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकतामा राखेर अघि बढ्छौं,’ मिश्रले भने, ‘स्वस्थ प्रतिस्पर्धाका लागि मर्यादित र तथ्यमा आधारित प्रचार नै हाम्रो मूल उद्देश्य हुनेछ ।’

बैठकमा आगामी निर्वाचनलाई केन्द्रित गर्दै संगठन विस्तार, वडा तथा टोल तहसम्म प्रचार संयन्त्र परिचालन, मतदाता भेटघाट कार्यक्रम र प्रशिक्षणसम्बन्धी विषयमा समेत छलफल भएको थियो । पार्टीले कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रमा समन्वयात्मक रूपमा प्रचार अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

नेपाली कांग्रेस कैलालीले प्रचार–प्रसार विभाग गठनसँगै निर्वाचन लक्षित गतिविधिहरूलाई थप तीव्र बनाउने अपेक्षा गरेको छ । विभागले स्थानीय तहसम्म पार्टीको सन्देश पु¥याउँदै जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पार्टी नेतृत्वले लिएको छ ।



सोमबार १३, माघ २०८२ ०४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal