कैलालीमा आजदेखि खाद्यद्वारा धान खरिद सुरु

युग संवाददाता     29 पटक पढिएको    

कैलालीमा आजदेखि खाद्यद्वारा धान खरिद सुरु

 


धनगढी -कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि धान खरिद सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीको ६ स्थानमा खरिद डिपो राखेर धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख दीपक थापाले धान खरिदका लागि केन्द्रबाट परिपत्र आएपछि खरिद सुरु गरिएको बताउनुभयो । यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको खरिद समितिको बैठकले आजदेखि धान खरिद गर्ने निर्णय गरेको थियो । सरकारले पहिलो चरणमा कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको प्रमुख थापाले बताउनुभयो । गत वर्ष भने कैलालीबाट ५५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएको थियो । खाद्यले धान खरिद गर्नुभन्दा अगाडी नै किसानले धान बिक्री गरेकाले ३४ हजार क्विन्टल धान मात्रै खरिद भएको थियो ।

कैलालीमा विभिन्न ६ ठाउँमा धान खरिद डिपो राखिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँले धनगढीको मोहनपुर, गौरीगङ्गा, जोशीपुर, भजनी, सती र टीकापुरमा डिपो राखेर धान खरिद सुरु भएको बताउनुभयो । नेपाल सरकारले गत साउन २६ गते नै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । यो वर्ष मोटा धानको प्रति क्विन्टल तीन हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा मूल्य कायम गरिएको छ । खाद्यले सरकारले तोकेकै मूल्यमा किसानबाट धान खरिद गरिरहेको छ । एक किसानबाट अधिकतम ५० क्विन्टल धान खरिद गर्ने र बैङ्क खाताबाट रकम भुक्तानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।



बुधबार १३, कार्तिक २०८२ ०७:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal