कैलाली कारागारका सुरक्षा टोली परिवर्तन

युग संवाददाता     157 पटक पढिएको    

कैलाली कारागारका  सुरक्षा टोली परिवर्तन

धनगढी: एक जना कैदीको मृत्यु हुने गरी कैलाली कारागारभित्र भएको कैदी बन्दीबिचको झडपपछि कैलाली कारागार अझै सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन। यद्यपि अवस्था भने सामान्य भइसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी सिडिओ गोगनबहादुर हमालले दाबी गरे। ‘स्थिति हिजो जस्तो छैन। अवस्था सामान्य भइसकेको छ,’ सिडिओ हमालले भने, ‘अहिले कैदीबन्दीहरूले आफन्त र परिवारजनसँग भेटघाट गरिरहनुभएको छ।’

तर कारागारको भित्री परिसरमा सुरक्षाकर्मी भने पसिनसकेको उनले बताए। ‘कारागारभित्र पहिले मानवअधिकारवादीलगायत सरोकारवालाको टोली गएपछि मात्रै सुरक्षाकर्मी पठाउने हाम्रो तयारी छ,’ उनले भने। शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूले कारागारको भित्री भाग पूर्ण रूपमा कब्जा गरेका थिए। मूल गेटमा घरेलु हातहतियार र ढुंगामुडासहित कैदी बन्दी बसेपछि सुरक्षाकर्मीहरू भित्र पस्न सकेका थिएनन्। यस्तै कैदीबन्दीहरूले ग्यास सिलिन्डर पड्काएर जेलमै आगो लगाइदिने धम्की दिइरहेका थिए। सिडिओ हमालले नै कैदीबन्दीहरूले गेटमा प्रेसर कुकर बम लिएर बसेको प्रतिक्रिया दिएका थिए।


आइतबार उनले अवस्था सामान्य भने पनि कैदी बन्दीहरूको आक्रोश अझै नघटेको स्रोत बताउँछ। आफन्त र मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधिसँग कुरा गर्न चाहे पनि उनीहरूले सुरक्षा निकायलाई ‘इन्टरटेन’ गरेका छैनन्।


जेलर र सुरक्षा टोली परिवर्तन

उता कैलाली कारागारमा भएको रक्तपातपूर्ण घटनापछि कारागार विभागले कारागार प्रमुख(जेलर) वसन्त खत्रीलाई जिम्मेवारीबाट हटाएको छ। उनको ठाउँमा जलान्धर भुसाललाई पठाइएको छ। भुसाल शनिबारै धनगढी पुगिसकेको सिडिओ हमालले जानकारी दिए। यस्तै घटनाका बेला कारागारको सुरक्षामा खटिएको टोलीलाई पनि परिवर्तन गरेको सिडिओ हमालले जानकारी दिए। ‘हिजो नै पूरै टोली बदलिसकिएको छ। त्यसका अतिरिक्त पनि ठुलै सुरक्षा टोली परिचालन गरिएको छ,’ हमालले भने।



आइतबार २६, साउन २०८२ ०९:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal