बर्दगोरिया सेती लोकमार्ग निर्माणमा प्रतिबद्ध छौँ ः  मन्त्री देउवा

युग संवाददाता     120 पटक पढिएको    

बर्दगोरिया सेती लोकमार्ग निर्माणमा प्रतिबद्ध छौँ ः  मन्त्री देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले बर्दगोरिया सेती लोक मार्ग पहिचान महोत्सवले त्रिदेशीय सिमाना जोडने सेती लोकमार्ग निर्माणमा दबाब दिने र बर्दगोरिया धामलाई चिनाउन भूमिका खेल्ने बताए ।

आज  महोत्सवको उद्घाटन गर्दै भौतिक मन्त्री देउवाले कमल शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले विगतदेखि नै सेती लोकमार्ग लगायतका गौरवका आयोजना निर्माणलाई तीव्रता दिन संघीय सरकारसँग पहल गरिरहेको बताए । 

‘सुदूरपश्चिममा राष्ट्रिय गौरवको आयोजना सेती लोक मार्ग, महाकाली कोरिडोर र धनगढी दिपायल द्रुत मार्ग निर्माण आयोजना चाँडो निर्माण गर्नका लागि र आवश्यक बजेट व्यवस्थापनका लागि अर्थमन्त्री, सडकको क्षेत्राधिकारमा पर्ने रुख कटानका लागि बन मन्त्री र पटक पटक प्रधानमन्त्रीसँगको भेटमा हामीले गम्भीरता पूर्वक यी आयोजनाका बारेमा कुरा उठाएका छौ ’ उनले भने,   ‘मुख्यमन्त्रीज्यूले प्रधानमन्त्रीको चिन भ्रमण र भारत भ्रमणका क्रममा सेती लोक मार्ग निर्माण एजेन्डाका रुपमा लैजान परराष्ट्र मन्त्री र प्रधानमन्त्रीसँग लविङ्ग गर्नु भएको थियो । ’

उनले सेती लोक मार्ग सुदूरपश्चिम प्रदेशका लागि लाइफलाइन रहेको भन्दै निर्माणमा तीव्रता दिइने बताए । कैलाली डोटी, अछाम, बाजुरा र बझाङका ग्रामीण क्षेत्र तथा भारत र चीनको नाका सम्म जोडने यो सडक त्रिदेशीय व्यापार लगायत अन्य सामरिक दृष्टिकोणले समेत महत्त्व रहेको मन्त्री देउवाले बताए । 

 ‘  सुदूरपश्चिमबाट भारतको सिमाना जोडने र तराईको कैलाली देखि चीनको सिमाना जोडने सबै भन्दा छोटो दुरीको ३५९ किलोमिटर रहेको छ ’ उनले भने,   ‘  यो सडक निर्माणपछि त्रिदेशीय व्यापार व्यवसाय र बझाङ, बाजुरा अछामका मानिसहरूले छोटो दुरीमा यात्रा गर्न पाउँछन् । ’

बजेटको अभाव, रुख कटानीमा ढिलाइ, पुलको डिपिआर नबन्दा र स्थिर सरकार नहुँदा समस्या भएको भन्दै मन्त्री देउवाले तमाम समस्याका बिचमा सडक निर्माणमा तीव्रता दिन आवश्यक रहेको औँल्याए ।

अहिले यो आयोजनालाई दुई भागमा विभाजन गरिएको छ । सेती लोक मार्ग टिकापुर देखि चैनपुर सम्म २४२ किलोमिटर दक्षिण खण्ड र  चैनपुर उरै भन्ज्याङ ११७ किलोमिटर उत्तर खण्ड गरि दुई खण्डमा विभाजन गरि कार्य भइरहेको छ ।

‘यसको द्रुत गतिमा निर्माणकार्य अगाडि बढाउन आवश्यक पहल गर्न सुदूरपश्चिम प्रदेश सरकार प्रतिबद्धता छ ’ मन्त्री देउवाले भने  ।



शुक्रबार ०९, चैत २०८० ०१:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.