काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आइतबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् ।
यसअघि दिउँसो उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। पदभार ग्रहण गर्दै सभामुख अर्यालले तटस्थ र निष्पक्ष रूपमा संसदको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच समान व्यवहार हुनुपर्नेमा जोड दिए। साथै संसदलाई कानून बनाउने मुख्य थलो भएको उल्लेख गर्दै, मुलुक र जनताको आवश्यकताअनुसार कानून निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभामुख अर्यालले भने, “सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने कुरा मैले बुझेको छु। त्यसैअनुसार काम गर्नेछु। यसपटकको सबैभन्दा बलियो प्रतिपक्ष जनता हुनुहुन्छ। विगत र भविष्यमा हुने निर्वाचनभन्दा हालै सम्पन्न निर्वाचन फरक छ। जनताको म्याण्डेटको उपज हो यो संसद। त्यसकारण सभामुखको हैसियतमा बस्दै गर्दा मलाई राम्रोसँग थाहा छ, यो पटकको बलियो प्रतिपक्षी जनता नै हुन्। प्रतिपक्षमा एक जना मात्रै किन नहोस् त्यो प्रतिपक्ष नै हो। त्यो नै शक्तिशाली हुन्छ। अर्को कुरा, सदन भनेको प्रतिपक्षकै हुन्छ।”
उनले संसदको कानुनी संरचना निर्माण र त्यसको कार्यान्वयनमा पनि आफू पूर्णतया प्रतिवद्ध रहेको जानकारी दिए। यस क्रममा सभामुखको तटस्थ भूमिका सुनिश्चित गर्दै संसदमा वैधानिक प्रक्रिया र नियमको पालनामा जोड दिनुपर्ने कुरामा पनि उनले प्रकाश पारे।
प्रतिकृया दिनुहोस