कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

युग संवाददाता     36 पटक पढिएको    

कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

 


महेन्द्रनगर /  निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले सरकारलाई ऐन संशोधनका लागि देशभरबाट सुझाव संकलन गरेरअनुरूप कञ्चनपुरमा पनि सुझाव संकलनका लागि समिति गठन गरेको हो ।


निर्माण व्यवसायी संघ कञ्चनपुरका महासचिव देवीदत्त भट्टले झन्झटिलो ऐन संशोधनका लागि जिल्लाबाट समेत सुझाव संकलनका लागि समिति विस्तार गरिएको बताए । संघका अध्यक्ष पुष्पराज अवस्थीको संयोजकत्वमा सात सदस्यीय सुझाव संकलन समिति गठन गरिएको हो । उक्त समितिले निर्माण व्यवसायीमाथि परेका पिरकर्मा सम्बोधन हुने गरेर जिल्लाबाट दुई दिनभित्रै सुझाव संकलन गरेर केन्द्रमा पठाउनेछ ।

जिल्लाका निर्माण व्यवसायीहरूले मध्यपूर्वका देशहरूबिचको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभावसँगै मूल्यवृद्धिले मारमा परेको बताएका छन्। उनीहरूले एकातिर सार्वजनिक खरिद ऐनसँगै निर्माण सामग्रीसहित इन्धनको मूल्य वृद्धिले मारमा परेको बताएका हुन् । कञ्चनपुरका वरिष्ठ निर्माण व्यवसायी रघुवीर साउदले निर्माण कार्यका लागि चाहिने आवश्यक इन्धन सामग्रीको अभावले व्यवसाय धराशायी बनेको बताए । उनले जिल्लाका सबै निर्माण व्यवसायीले सरकारलाई लाइसेन्स बुझाएर आत्मसर्मपण गर्नुको विकल्प नभएको बताए ।


निर्माण व्यवसायी संघ कञ्चनपुरका निवर्तमान अध्यक्ष निरञ्जनप्रसाद भट्टले निर्माण सामग्रीको मूल्य आकासिएसँगै आफूहरू मारमा परेको बताए । संशोधन गर्नुपर्ने ऐन पनि आफूहरूको हितमा नभए झन जोखिम बढाएकाले जिल्ला, प्रदेशदेखि केन्द्रीय महासंघले चनाखो हुनुपर्ने बताए । युवा निर्माण व्यवसायी शंकर जोशीले मूल्य वृद्धिले व्यवसायी मारमा परेको दुःखेसो पोख्ने यसतर्फ ध्यान दिनुपर्ने बताए। अर्का युवा व्यवसायी ज्ञानेन्द्र फुयाँलले आफूहरूमाथि बज्रपात भइरहेको भन्दै समयमै नियन्त्रण गर्न नसके ठुलो क्षति हुने चिन्ता व्यक्त गरेका छन् । निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्वअध्यक्ष लोकबहादुर ठकुराठीले निर्माण व्यवसायी पनि पूर्ण इमानदार, सरकार पनि अभिभावक र कर्मचारीले घुस खान छाड्नुपर्ने सुझाव दिए ।

नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेटीले ऐन संशोधनका लागि जिल्ला जिल्लाबाट आएका सुझाव महासंघलाई बुझाउने बताए। उनले व्यवसायीको हकहितदेखि सरकारी कामकाज प्रभावकारी बनाउने गरेर ऐन संशोधन हुने अपेक्षा गरेका छन् ।



आइतबार २९, चैत २०८२ ०२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal