दार्चुला–टिङ्कर सडक निर्माणको गति सुस्त, प्रगति न्युन

युग संवाददाता     93 पटक पढिएको    

दार्चुला–टिङ्कर सडक निर्माणको गति सुस्त, प्रगति न्युन


दार्चुला। नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिङ्कर सडक निर्माणको गति बढ्न सकेको छैन । विगतदेखि नै कछुवा गतिमा निर्माण भइरहेको यो सडक पूरा हुनेमा स्थानीयवासीले शङ्का गर्दै आक्रोश पोख्न थालेका छन् ।


टिङ्कर सडकमा चालु आर्थिक वर्षको छ महिनामा जम्मा ७२० मिटर नयाँ ट्र्याक खोल्ने र ४८० मिटर सडक स्तरोन्नति गर्ने काम भएको छ । व्यास गाउँपालिका–२, तुसारपानीदेखि दुम्लिङ हुँदै तम्बाकुसम्मको क्षेत्रमा सेनाले सडक निर्माण गरिरहेको छ।चालु आवमा तीन किलोमिटर नयाँ ट्र्याक निर्माण र दुई किलोमिटर सडकको स्तरोन्नति गर्ने लक्ष्य भए पनि पछिल्लो छ महिनाको निर्माण गति हेर्दा सन्तोषजनक प्रगति देखिँदैन ।

यस सडकमा लक्ष्य अनुसार काम नभएको स्थानीयको गुनासो छ। व्यास–२ मा पर्ने फतङ्गाड, पलटेधार, कोठधार, फुलचिमधार, तल्लो दुम्लिङ, काठा दुम्लिङ, आकतुङ्ती र तम्बाकुलगायत स्थानमा सडक निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ। सरकारले दार्चुला–टिङ्कर सडक निर्माणका लागि चालु आवका लागि १४ करोड १९ लाख २० हजार रुपियाँ बजेट विनियोजन गरेकोमा हालसम्म तीन करोड रुपियाँ बजेट मात्रै खर्च भएको छ।


कुल ७९ किलोमिटर लामो सडकमध्ये गत वर्ष साढे १० किलोमिटर सडकको ट्र्याक निर्माण र डेढ किलोमिटर सडकको स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। गत पुस ५ गते टिङ्कर सडकको स्थलगत अनुगमनमा सुन्सेरा पुगेका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वाला र प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूसहितको टोलीले टिङ्कर सडकमा पर्याप्त बजेट थप्ने प्रतिबद्धतासहित दु्रत गतिमा सडक निर्माण गर्न निर्देशन दिएका थिए।

तर, सडक निर्माण कार्यलाई गति दिन सैनिक कर्मचारी,कामदार र थप बजेट केही थपिएको छैन। नयाँ वर्षसम्म मालगाउँमा गाडी पु¥याउने लक्ष्य रहेको सेनाले जनाएको छ । सरकारले पर्याप्त बजेट, मेसिन र जनशक्ति परिचालन गर्न नसकेका कारण कार्यप्रगति सन्तोषजनक हुन नसकेको बताइन्छ । कल्जु क्षेत्रमा कम्प्रेसर मेसिन पुर्‍याउन समस्या भएको छ। यो छ महिनाको भौतिक प्रगति न्यून देखिए पनि वार्षिक लक्ष्य अनुसार तीन किलोमिटर नयाँ सडक निर्माण र दुई किलोमिटर सडकको स्तरोन्नति पूरा हुने दाबी सेनाको छ। सीमा क्षेत्रका स्थानीय बासिन्दाको माग र आवश्यकता अनुसार टिङ्कर सडक निर्माणले गति लिएको छैन ।

राजनीतिक नेतृत्व र उच्च सरकारी अधिकारीले बजेट अभाव हुन नदिइने बताए पनि यो वर्ष बजेट थपिने सम्भावना देखिँदैन। यो वर्षका लागि विनियोजित १४ करोड बजेट र वार्षिक लक्ष्य अनुसारको भौतिक प्रगति हुन नसकेपछि थप बजेटको आवश्यकतामाथि नै प्रश्न उठ्ने सम्भावना बढेको छ। व्यास गाउँपालिका–२, दुम्लिङसम्म बजेट र जनशक्ति थपेर चाँडो सडक निर्माण गर्नुपर्ने आवश्यकता रहेको वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए।

दुम्लिङबाट सदरमुकाम खलङ्गा तथा गाउँपालिका र वडाका अन्य बस्तीसम्म आवतजावत गर्न महाकाली नदीमा तुइन तर्नुपर्ने बाध्यता रहेकोले तत्कालै दुम्लिङसम्मको सडक निर्माण गरिनुपर्ने उनको भनाइ छ। स्थानीयवासीको माग अनुसार नेपाल सरकारले दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुङ्गेपुल निर्माणको प्रस्ताव गरे पनि भारत सरकारले यसमा सहमति दिइसकेको छैन। दुम्लिङमा एक दशकदेखि झोलुङ्गे पुल निर्माणको माग राखे पनि पूरा हुन नसकेको व्यासका स्थानीय दीपक खातीले बताए। गोरखापत्रबाट



बुधबार ०२, फागुन २०८० ०५:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.