स्पष्ट नीति नभएसम्म लगानी गर्न नसकिन्न

युग संवाददाता     556 पटक पढिएको    

स्पष्ट नीति नभएसम्म लगानी गर्न नसकिन्न

धनगढी। उद्योग व्यवसायमा सरकारले स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म लगानी गर्न नसकिने व्यवसायीहरुले गुनासो गरेका छन् । शुक्रबार धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभाको उद्घाटनको क्रममा उनीहरुले सो कुरा बताएका हुन्।

लगानी गर्न लगानीकर्ता, उद्योगी एवं व्यापारिक व्यक्ति तथा फर्महरु इच्छुक रहेपनी सरकारले लगानीको वातावरण बनाउन नसकेको उनीहरुको भनाई छ । उद्योग व्यवसाय सञ्चालन गर्ने सहज वातावरणको अवस्था सुधारोन्मुख हुन नसक्दा विदेशीबाट पनी लगानी आर्कषित गर्ने कार्य झन चुनौतिपूर्ण बनेको उनीहरुको भनाई छ।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको लागि स्पष्ट नीतिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे । ‘काम गर्ने वातावरण बन्यो भने हामी लगानी गर्न तयार छौं, उनले भने ।
मुलुक युवाविहीन हुने अवस्थामा पुगेको भन्दै उपाध्यक्ष वैद्यले विदेश पलायन रोक्नका लागि मुलुकको शिक्षा नीति र उद्योग नीतिमा परिवर्तन गर्न आवश्यक रहेको औंल्याए। युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण उपलब्ध गराउन जरुरी रहेको उनको भनाइ थियो।यसैगरी, महासंघकै अर्का उपाध्यक्ष हेमराज ढकालले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो अवस्था तत्काल सुध्रिन नसक्ने बताए। उनले यसलाई सुधार्नका लागि बजारलाई चलायमान बनाउन आवश्यक रहेको बताए। त्यसका लागि सरकारले विशेष पुनर्रोत्थान प्याकेज घोषणा गर्नुको साथै लगानी सम्मेलन गर्नुपर्ने बताए। यस्तै कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार निकाय रहेको उल्लेख गरे।

उनले सरकारलाई सफल वा असफल बनाउनमा निजी क्षेत्रको ठुलो भूमिका रहने गरेको उल्लेख गरे। प्रदेशमा स्वरोजगारको अवसर सृजना हुनुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकार लगानी तथा विकास सम्मेलन गर्ने तयारीमा जुटेको मन्त्रीको भनाइ थियो। देश विदेशको लगानीलाई यो प्रदेशमा कसरी भित्र्याउने भन्ने सवालमा प्रदेश सरकार गम्भीर रहेको उनले बताएका छन्।



शनिबार २७, माघ २०८० ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal