भण्डारीको कार्यकाल आज सकिँदै, पौडेलको भोलि दिउँसो शपथ

युग संवाददाता     292 पटक पढिएको    

भण्डारीको कार्यकाल आज सकिँदै, पौडेलको भोलि दिउँसो शपथ

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीले दुवै कार्यकाल पूरा गरेकी हुन् । 


उनी पहिलो पटक २०७२ साल कार्तिक ११ गते राष्ट्रपति भएकी थिइन् । उनको पहिलो कार्यकाल भने दुई वर्ष चार महिनाको मात्र रहेको थियो । दोस्रो कार्यकाल भने उनी पूर्ण समय व्यतित गरेकी छिन् । 

संविधानअनुसार राष्ट्रपतिमा दुई कार्यकाल भन्दा बढी एकै व्यक्ति हुन पाउँदैन ।


भण्डारीको कार्यकाल आजबाट सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । यही फागुन २५ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । 

एमाले नेता सुवास नेम्वाङलाई दोब्बर बढी मतभारले पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलको भोलि शपथ–
रामचन्द्र पौडेल राष्ट्रपतिका रुपमा भोलिमात्र राष्ट्रपतिको कार्यालय शितलनिवास पुग्नेछन् । उनले भोलिमात्र शपथ लिनेछन् । 

संविधानअनुसार प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिनेछन् । शपथको कार्यक्रम सोमबार दिउँसो १ बजेको साइतमा राखिएको छ । 

रामचन्द्र मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । राष्ट्रपतिको कार्यकालको हिसाबले भने उनी चौथो कार्यकाल राष्ट्रपति बन्नेछन् । 

नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव हुन् । उनले २०६५ देखि २०७२ सालसम्म सात वर्ष कार्यकाल सम्हालेका थिए । 



आइतबार २८, फागुन २०७९ ०७:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.