राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै

युग संवाददाता     320 पटक पढिएको    

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै

 


काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ। आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृत पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुईटा मतदान केन्द्र रहने छन् । राष्ट्रपति निर्वाचनमा संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको नामसूची पठाइसकेका छन्। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।आज बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ। आजै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन तथा उजुरी दिन सकिनेछ। त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ।

दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ।उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ। शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ।राष्ट्रपति निर्वाचन फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन्।२०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ सालको जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ।

राष्ट्रपति निर्वाचनको लागि संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता मत खसाल्न योग्य हुन्छन्।राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसदका कुल मतदाताको संख्या ३३२ रहेको निर्वाचन आयोगले जनाएको छ।दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउनेबारे राजनीतिक कसरतमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ। नेपाली कांग्रेसले आफ्नो दलको तर्फबाट उम्मेदवारी दिने भनिरहेको छ । नेकपा ९एमाले० ले गत पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार सत्ता साझेदार दलबाट हुनुपर्ने बताइरहेको छ ।



बुधबार १०, फागुन २०७९ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.